समाचारशनिबार, भाद्र ८, २०७०
दुई माओवादीको वार्ता, ‘वैद्य निर्वाचनमा नआउने संकेत’
दुवै दलका अध्यक्षहरु पुष्पकमल दाहाल र मोहनवैद्य समेत सहभागी छलफल गोलमेच सम्मेलन र निर्वाचन सम्बन्धमा दिउँसो हुने दलहरुबीचको वार्तामा केन्द्रित भए पनि कुनै निष्कर्ष नआएको सहभागी नेताहरुले बताएका छन् ।
दाहाल निवास लाजिम्पाटमा भएको उक्त छलफलका सहभागी एमाओवादी नेता नारायणकाजी श्रेष्ठले नेकपा–माओवादीका नेताहरुले ४ मंसीरमा हुने संविधान सभा निर्वाचनमा सहभागी नहुने संकेत देखिएको बताए ।
यसअघि ७ भदौ साँझ बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पनि नेकपा–माओवादीले गोलमेचका नाममा चुनाव विथोल्न खोजेको नेताहरुले शंका गरेका थिए ।
नेकपा–माओवादीका अध्यक्ष वैद्यले राजनीतिक समितिसँग भएको ६ भदौको वार्तामा गोलमेच सम्मेलनबाटै सबै निकास खोज्ने बताए पनि ७ भदौमा सञ्चारकर्मीसँग कुरा गर्दै रेग्मी नेतृत्वको सरकार आफूले नमान्ने र निर्वाचन मिति पनि सारेर नयाँ प्रक्रिया शुरु गर्नुपर्ने आफ्नो स्पष्ट अडान भएको बताएका थिए ।
त्यस्तै ७ भदौमै नेपाली कांग्रेस सभापतिसँग भएको वार्तामा पनि सरकार र निर्वाचन मिति परिवर्तनको कुरा उठाएपछि राजनीतिक समितिले वैद्य माओवादी गोलमेचका नाममा निर्वाचन विथोल्ने षडयन्त्रमा लागेको शंका गरेको हो ।
समितिमा आवद्ध प्रमुख दलहरुले भने निर्वाचन मिति र सरकार परिवर्तन कुनै हालतमा नहुने अडान राख्दै आएका छन् ।
उच्चस्तरीय राजनीतिक समितिसँग दलहरुको सम्मेलनका लागि सहमती भए पनि सम्मेलनमा को को सहभागी हुने भन्ने आज ८ भदौमा हुने दलहरुको छलफलले तय गर्ने बताइएको छ ।
