समाचारआइतबार, भाद्र ९, २०७०
तोकिएकै समयमा निर्वाचन होस्: भारतीय नेता
भारतको राज्यसभामा विपक्षी दलका उपनेता समेत रहेका रविशंकर प्रसादले नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुलाई कसरी निर्वाचनमा ल्याउने भन्ने चाहीं नेपालका राजनीतिक दलहरुको चिन्ताको विषय भएको स्पष्ट पार्दै आफूहरुले त समयमै निर्वाचन भएर छिटो संविधान बनोस भन्ने शुभेच्छा राखेको बताएका छन् ।
नेपालको तीन दिने भ्रमणमा रहेका नेता प्रसादले ९ भदौमा रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा भने, “नेपाल लोकतान्त्रिक देशको रुपमा अघि बढोस भन्ने हाम्रो चाहना हो तर, यहाँ कस्तो संविधान, शासन ब्यवस्था र सरकार बनाउने भन्ने कुरा नेपाली जनता र यहाँका राजनीतिक दलले फैसला गर्ने कुरा हो ।”
यद्यपि उनले लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्र न्यायपालिका, प्रजातान्त्रिक शासन ब्यवस्था आधुनिक राज्य ब्यवस्थाका आधारभूत विषय भएको धारणा राखे ।
आफूसँगको भेटमा यहाँका नागरिक समाज र राजनीतिक दलका नेताहरुले हिन्दुत्व र हिन्दु राष्ट्रको विषयमा जिज्ञासा राखेको जानकारी दिदै उनले नेपालमा हिन्दु सस्कृति र संस्कार भए पनि यहाँ हिन्दु राज्य बनाउने वा नबनाउने भन्ने विषयमा नेपाली जनताले नै निर्णय गर्नु पर्ने धारणा ब्यक्त गरे ।
नेपाल र भारतवीच प्राचिनकाल देखि नै साँस्कृतिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, “यहाँ पशुपतिनाथ भारतमा काशी, यहाँ सीतामाताको जनकपुर, हाम्रोमा भगवान रामको अयोध्या छ । यस्तो सम्बन्धलाई राजनीतिले प्रभावित पार्न हुँदैन ।”
नेपाल र भारतमा ३५ वर्षभन्दा कम उमेर समूहका यूवाहरु ६० प्रतिशत रहेको भन्दै अव दुई देशबीचको सम्बन्धलाई उनीहरुको सोचको आधारमा पनि हेर्नु पर्ने सुझाव दिएका थिए ।
७ भदौमा नेपाल आएका भारतीय नेता प्रसादले यसअघि राष्ट्रपति, मन्त्रिपरिषद अध्यक्ष, दलका नेताहरुलगायतसँग भेटवार्ता गरेका थिए ।
