समाचारसोमबार, भाद्र १०, २०७०
७० पूर्वलडाकु भए सेनाका अधिकृत
सैनिक प्रशिक्षण प्रतिष्ठान खरिपाटीमा १० भदौमा आयोजित समारोहबीच मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रधान सेनापति गौरव शम्शेर जबराले ७० जना पूर्व लडाकुलाई नेपाली सेनाको अधिकृतमा प्रवेश गराएका छन् ।
१० भदौदेखि औपचारिक जिम्मेवारी पाएपनि उनीहरु थप तीनमहिनाको ब्रिजिङ कोर्स गरेपछि विभिन्न पदमा बढुवा हुनेछन् । अधिकृतहरुलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा जिम्मेवारी दिइनेछ ।
पूर्व लडाकुमध्ये यामबहादुर अधिकारीलाई महासेनानी तथा बासुदेव घिमिरे र पदमबहादुर तामाङलाई प्रमुख सेनानी पद दिने पूर्व सहमति भएको छ ।
तालिम पूरा गरी औपचारिक रुपमा सेवा शुरु गर्नेमध्ये बासुदेव घिमिरे र माधव घिमिरे सहोदर दाजुभाई हुन् भने रामबाहादुर लामा र बिमला पन्त लामा श्रीमान श्रीमती हुन् ।
उनीहरुमध्ये १३ जनालाई सेनानी, ३० जनालाई सहसेनानी र २४ जनालाई उपसेनानी पद दिने नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रैगमीले नेपालको सेना समायोजनको प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै सेनाको तालिमले ब्यवसायिक क्षमता अभिवृद्धि गरेको बताएका थिए ।
