थप समाचारसोमबार, भाद्र १०, २०७०
अमेरिकी सैनिकद्वारा सिरियालाई घेर्ने तयारी
सिरियामा आक्रमणका सम्बन्धमा छलफल गर्न अमेरिका, बेलायत र अन्य सहयोगी राष्ट्रका सैनिकहरु जोर्डनमा वार्ता गरिरहेको बीबीसीले जनाएको छ । लामो समयदेखि द्वन्द्वग्रस्त सिरियामा पछिल्लो समय त्यहाँको सेनाले विद्रोहीमाथि रासायनिक हतियारले आक्रमण गरेको समाचार आएपछि अमेरिकाले सिरियाको राजधानी दमासकसलाई घेर्ने गरी सेनाको तैनाथी बढाएको हो ।
५ भदौमा सिरियाली सरकारले राजधानी दमासकस नजिकै गरेको एक आक्रमणमा रासायनिक एवम् निकै घातक हतियारको प्रयोग गरी सयौँ नागरिकको हत्या गरेकोले त्यस विरुद्धको कारबाहीका लागि अमेरिकाले सिरियालाई घेरेको सञ्चारमाध्यमहरुले बताएका छन् ।
सिरियामा रासायनिक हतियारको प्रयोगबारे अनुसन्धानका लागि संयक्त राष्ट्रसङ्घका अनुसन्धान अधिकारीहरु त्यसतर्फ लागिसकेका छन् । यसअघि सिरियामा भएका मानवअधिकार हनन्का विभिन्न घटनामा अनुसन्धानका लागि संयुक्त राष्ट्रसङ्घलाई पनि सिरिया सरकारले अनुमति दिएको थिएन ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले राष्ट्रपति बाराक ओबामालाई सिरियामा रासायनिक हतियार प्रयोग गरेको विषयमा विभिन्न सैनिक विकल्पहरुका बारेमा सुझाएको थियो । ती बिकल्पमध्ये सिरियामा बल प्रयोग एक रहेको थियो ।
यस विषयमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले परामर्श गरी सिरियामा सैनिक आक्रमणका लागि सहमति भएको समाचारहरु आइरहेका छन् ।
डक्टर्स विथआउट बोर्डर्सले रासायनिक हतियारबाट ३५५ व्यक्तिको स्नायु प्रणालीमा गम्भीर असर परेका लक्षणका कारण मृत्युभएकोे जानकारी दिएको छ । सो घटनामा परी कम्तीमा पनि दुई हजार नागरिक मारिएका पछिल्ला समाचारहरुमा उल्लेख छ ।
संयुक्त राष्ट्र सङ्घका अनुसार सिरियामा सन् २०११ को मार्च महिनादेखि शुरु भएको विद्रोहमा हालसम्म एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
अमेरिकालाई रसियाको चेतावनी
यसैबीच रसियाले अमेरिकाले सिरियामा सैनिक कारबाही सुरु गर्न लागेकोमा गम्भीर चासो व्यक्त गरेको छ । उसले सैनिक कारबाहीको रुप अत्यन्तै खतरनाक हुने चेतावनी पनि दिएको छ ।
रसियाका विदेश मन्त्री सेर्गेई लाभरोभले अमेरिकी विदेश मन्त्री जोन केरीलाई उक्त कारबाहीका लागि हतार नगर्न सुझाव दिएका छन् । उनले सैनिक कारबाहीले आगामी दिनमा सैनिक हस्तक्षेपका अरुपनि नकारात्मक शृंखलाहरुको विकास हुने खतरा रहने तर्फ सचेत गराएका छन् ।
लाभरोभले आइतबार राति अमेरिकी विदेश मन्त्री केरीलाई टेलिफोन गरी अमेरिकाले सिरियामाथि आक्रमणको तयारी गरेको समाचार सुन्दा रसिया झस्किएको बताएका थिए ।
आक्रमण गरे अमेरिका असफल: सिरियाली राष्ट्रपति
उता सिरियाली राष्ट्रपति बसार अल असादले अमेरिकाले सिरियामाथि सैनिक हमला गरेमा अमेरिका सफल नहुने प्रतिक्रिया दिएका छन् ।
उनले रसियाको एक पत्रिकालाई दिएको अन्तरवार्तामा अमेरिका सैनिक हमलामा सफल नहुने दाबी गरेका हुन् ।
साथै असादले आफ्नो सेनाले रासायनिक हतियारको प्रयोग नगरेको भन्दै त्यसको बचाउ पनि गरेका छन् ।
एजेन्सी

