समाचारसोमबार, भाद्र १०, २०७०

यसवर्ष १२ नाउर र ६ झारलको शिकार अनुमति

हिमालखबर

ढोरपाटन शिकार आरक्षले असोजदेखि मंसीरसम्म चल्ने पहिलो याममा १२ नाउर र ६ झारलको शिकारका लागि अनुमति प्रदान गरिएको  जनाएको छ ।

आरक्षमा जंगली जनावरका शिकार गर्न विशेष गरी विदेशी शिकारीहरु आउने गर्छन् । उनीहरुले झारल र नाउरको शिकार गरेवापत १ लाख ५० हजारदेखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

कोटा निर्धारणपछि विभागले आह्वान गरेको बोलपत्रको आधारमा पहिलो याममा ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड लाइफ एडभेन्चर प्रालि र हिमालयन सफारी प्रालिले शिकारका लागि शिकारी पठाउने आरक्षका प्रमुख विश्वबाबु श्रेष्ठले बताए ।

यस शिकार आरक्षमा मौसमअनुसार हरेक वर्ष दुई याममा नाउर र झारलको शिकार गर्ने गरिन्छ । पहिलो याम असोज पहिलो हप्तादेखि शुरु भई मंसीर अन्तिमसम्म चल्ने गर्छ भने दोस्रो फागुनदेखि शुरु भई वैशाखसम्म चल्ने गर्दछ । दुवै याममा सिकारका लागि वन्य विभागले बोलपत्र आह्वानमार्फत शिकारी छनोट गर्ने गरेको छ ।

असोज पहिलो साताभित्रै ढोरपाटन क्षेत्रमा आइपुग्ने शिकारीले आरक्षका सुनदह, सेङ, गुस्तुङ, फागुने र बार्से ब्लकमा सिकार खेल्ने आरक्ष प्रमुख श्रेष्ठले बताए । सुर्तीबाङ ब्लकमा भने नाउर नपाइने र झारलको सङ्ख्या अत्यन्त न्यून रहेकाले विगत तीन वर्षदेखि शिकार गर्न रोक लगाइएको श्रेष्ठले जानकारी दिए । २१ दिनसम्म आरक्ष क्षेत्रमा बसेर तालिम प्राप्त शिकारीले नाउर र झारलको शिकार गर्नेछन् ।

एक झारल वा नाउरको शिकार गरेमा प्रत्येक शिकारीबाट अधिकतम रु एक लाख ८७ हजारदेखि न्युनतम रु एक लाख ६० हजारसम्म लिने प्रावधान रहेको आरक्षले बताएको छ ।

बागलुङ, म्याग्दी र रुकुम जिल्लामा फैलिएको यस शिकार आरक्षमा शिकारीले रुकुमतर्फको बल्कमा एक नाउरको शिकार गरेमा रु एक लाख ५० हजार, झारलको शिकार गरेमा रु एक लाख, बागलुङ र म्याग्दीतर्फको बल्कमा शिकार गरेमा नाउरको रु एक लाख र झारलको रु ५० हजार तिर्ने गरेका छन् ।

रासस

गत वर्ष दुवै याममा गरी १६ नाउर र सात झारलको शिकार गरिएबापत शिकार आरक्षले रु ७३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको प्रमुख श्रेष्ठले बताए ।

विभिन्न प्रजातिका चराको पनि शिकारका लागि अनुमति दिइने गरिए पनि त्यहाँ पुग्ने शिकारीले हालसम्म चराको शिकार नगरेको आरक्षले जनाएको छ ।

ढोरपाटन शिकार आरक्षबाट सङ्कलन हुने राजस्व जिल्लाले नै बहन गर्न पाउनुपर्ने माग स्थानीयवासीबाट पटकपटक उठ्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>