समाचारबुधबार, भाद्र १२, २०७०
जग्गा हत्याउन बोक्सीको आरोप
आफन्तले जग्गा हडप्न बोक्सीको बात लगाउँदै २२ साउनमा गाउँ निकाला गरिएकी पर्सा विश्रामपुरकी सरस्वतीदेवी चौरसिया (५०) अहिले वीरगञ्ज रानीघाटस्थित छोरीको घरमा शरण लिइरहेकी छन् । उनी भन्छिन, “छोरीको घरमा कति दिन बस्नु, कस्ले देला मलाई न्याय ?”
उनले विलौना गरिन, “मलाई पनि सुपौलीकी पार्वतीदेवी चौधरीजस्तै पटिदारले बोक्सीको आरोपमा हत्या गर्न बेर छैन ।”
पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले सरस्वतीदेवीको सुरक्षाको ग्यारेण्टी गर्छौं भने पनि न त सरस्वती न त स्वयम् प्रहरी उपरीक्षक त्यसप्रति विश्वस्त छन् । “एकल महिला, गाउँमा आफन्त पनि छैनन, त्यसैले उनी छोरीहरुकहाँ बसेको राम्रो,” उपरीक्षक सिंह भन्छन् ।
सरस्वतीदेवीका अनुसार २२ साउनमा खेतमा पानी पटाई रहेका बेला उनलाई नातामा जेठाजु पर्ने हृदेव राउत बरै र उनका परिवारका सदस्यले लछारपछार पार्दै घरमा ल्याए र छातीमा चढेर मुखमा दिसा कोच्याए । सरस्वतीदेवी भन्छिन, “म साँच्चिकै बोक्सी भएको भए उनीहरुलाई बाँकी राख्थें हुँला त ?”
करिब २५ वर्षअघि पति गुमाएकी सरस्वतीदेवीका तीन छोरीको बिहाबारी भइसकेको छ । तीन वर्षअघि ससुरा बितेपछि गांउका पटिदारहरुको आँखा उनको दुईकठ्ठा जमिनमा पर्यो । “मेरो जग्गा हडप्न यो सबै प्रपञ्ज गरिएको हो,” सरस्वतीले भनिन् ।
घटनाभन्दा २, ३ महिनाअघि हदेव राउतकी बुहारीलाई सर्पले टोकेको थियो । छारे रोगले ग्रसित राउतकी बुहारी बाँचेपनि यसको सबै दोष सरस्वतीदेवीलाई लगाईयो ।
उनको एउटै माग छ, दोषीलाई सजाय होस र आफ्नो गाउं बिश्रामपुर फर्किने वातावरण बनोस ।
घटनामा संलग्न पाँचजनामध्ये देवमतीदेवी, लालचुनियादेवी र मञ्जय चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही शुरु गरेको छ भने प्रमुख अभियुक्त हृदेव राउत र गिरिजा राउत फरार छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
