समाचारबुधबार, भाद्र १२, २०७०
सन्तान वियोगको पीडा
त्यो बेला कोही माओवादीबाट मारिए वा बेपत्ता पारिए, कोही राज्यपक्ष ‘सुरक्षा निकाय’ को निशाना बने। जुन पक्षबाट सन्तान गुमाए पनि सबै बाबुआमाको पीडा एकै छ। सन्तान वियोगको पीडालाई कुनै आस्था वा पक्षले कमबेसी पार्दो रहेनछ। फरक कति मात्र भने, कोही एउटा लक्ष्य प्राप्तिका निम्ति विद्रोहसँग प्रत्यक्षरअप्रत्यक्ष जोडिएका थिए, कोही त्यसबाट बिल्कुल अलग थिए।
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा थालेको हिंसामा करीब १७ हजार नेपालीले ज्यान गुमाए। त्यसक्रममा बेपत्ता पारिएका एक हजारभन्दा बढीको अहिलेसम्म खुटखबर छैन। विद्रोहकालमा मारिने र बेपत्ता पारिनेमध्ये अधिकांश युवा थिए।
पीडाको सागरमा
९ माघ २०६० को बिहान मुलुकचन्द राजवंशी (५५) झापाको राजगढ–४ स्थित घरमा आगो ताप्दैथिए। त्यही बेला आएका माओवादीहरूले छोरा खिरेन्द्रलाई घिसार्दै लगे। त्यसको आधा घण्टामा बन्दूकको आवाज आयो। पर खेतमा पुर्याएर निधारमा गोली हानेर मारिएका खिरेन्द्रको लास बाबु मुलुकचन्दले उठाएर ल्याए।
त्यो घटनापछि पागल जस्ती भएकी खिरेन्द्रकी आमा सूर्यवती जहिल्यै खिरेन्द्रको नागरिकताको प्रमाणपत्र बोकेर हिंड्छिन्।
धरमपुर, झापाका शम्भु खड्कालाई माओवादीले २३ जेठ २०५९ मा तोपगाछी बजारबाट अपहरण गरे। त्यसको १० दिनपछि इलामको मैनाचुली जंगलमा टाउको छुट्टिएको उनको शव भेटियो। रक्तचाप, मधुमेह र पित्त सुनिने बिमारी भएका कर्णबहादुर (६१) अहिले आफूलाई संसारकै सबभन्दा दुःखी मान्छे ठान्छन्। “बरु म मरेर शम्भु बाँचेको भए घरजम गर्थ्यो, परिवार पाल्थ्यो” कर्णबहादुर भन्छन्। कर्णबहादुर र मुलुकचन्द अझै पनि छोरा मारिनुको कारण खोज्दैछन्। किनभने, माओवादीले भने जस्तो उनीहरू ‘सुराकी’ थिएनन्।
दाङका रामप्रसाद र तुलसा चौधरीले डाक्टर वा इन्जिनियर बन्न चाहने छोरा अर्जुनलाई राम्रो पढाइका लागि बजारमा राखेका थिए । जेठी छोरी रामकली पढाइसँगै प्रौढकक्षा पढाउँथिन् । २०५९ सालमा सरकारी सेनाले रामकलीलाई बेपत्ता पारेपछि मात्र बाबुआमालाई ऊ माओवादी भएको थाहा भयो । त्यसपछि अर्जुन पनि भूमिगत भए । २०६१ मा ऊ पनि ‘शहीद’ भएको खबर आयो । ‘शहीद’ को अर्थ बुझेर रुन पनि नपाउँदै सेनाले रामप्रसादलाई लगेर एक महीना थुन्यो, तुलसालाई असक्त हुने गरी कुटपिट गर्यो ।
५५ नाघिसकेका उनीहरू छोराछोरीको सुर्तामा डुबेका छन् । रामप्रसाद र तुलसाले पीडा भुल्न घर नजिकै बर–पीपल रोपेर छोराछोरीको सम्झ्नामा चौतारो बनाएका छन् । उनीहरू त्यहीं बस्छन्, टोलाउँछन् र रुन्छन् ।
बाँकेको शमशेरगञ्ज―१, अकलघरवाका पल्टन थारू (७०) पनि दुःखी बाबुको नियति भोगिरहेका छन्। १४ मंसीर २०५८ को साँझ् नुहाउँदै गरेका उनका छोरा कमललाई चारजना सरकारी सैनिकले घर पछाडि लगेर गोली हाने।
पल्टनलाई छोराले गल्ती गर्यो भन्ने कहिल्यै लागेको पनि छैन। “तर, नेताहरूले फाइदा लिन मात्र जनताका छोरा लडाएका रहेछन्”, पल्टन भन्छन्। अहिले नातिनातिना हुर्काउँदै गरेका उनी माओवादी विद्रोहले आँशु मात्र छाडेर गएको ठान्छन्।
नेपाली समाजमा सन्तानलाई बूढा आमाबाबुका सुरक्षाकवच मानिन्छ। ठूलो दुःखले हुर्काएका छोराछोरी गुम्दा आमाबाबुको सर्वस्व नै हुन्छ। समाजशास्त्री डा. डिल्लीराम दाहालका भनाइमा, जसका हुर्केका सन्तान गुम्छन्, तिनको पीडा जीवनपर्यन्त असह्य हुन्छ। “जसका सन्तानै नासिए, बुढेसकालमा तिनको पीडा झनै बढेर जान्छ”, डा. दाहाल भन्छन्, “छोराछोरी मारिएका वा हराएका आमाबाबुको पीडा अकल्पनीय हुन्छ।”
यी त एकदशक लामो माओवादी हिंसात्मक विद्रोहका प्रतिनिधि घटनाहरु मात्रै हुन् । माओवादी विद्रोहले खोसेका सन्तानको असह्य पीडा बोकेर हजारौं बाबुआमाहरु सकसको जीवन बाँचिरहेका छन्।
ज्यान फाल्दै गंगामाया–नन्दप्रसाद
गोरखा फुजेल–७ का गंगामाया र नन्दप्रसाद अधिकारीका कान्छो छोरा कृष्णप्रसाद अधिकारीलाई २४ जेठ २०६१ मा माओवादी कार्यकर्ताले चितवनको रत्ननगरबाट सुराकीको आरोपमा अपहरण गरी हत्या गरे ।
छोराका हत्यारालाई कार्वाहीको माग गर्दै नौ वर्षदेखि भौंतारिएका अधिकारी दम्पती अनेकौं सास्ती खेप्दै पछिल्लो समय वीर अस्पतालको आइसीयुमा छन् । लामो समयदेखि अनसनमा रहेका उनीहरुको हातको नसासमेत सुकेपछि घाँटीको नसाबाट औषधी दिएर उनीहरुलाई बचाई राखेको वीरअस्पतालका चिकित्सकहरु बताउँछन् ।
उता द्वन्द्वकालका मुद्दा ब्युँताए शान्ति प्रक्रिया भंग हुने धम्की दिंदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले कृष्णप्रसाद अधिकारी हत्या अनुसन्धान अघि नबढाउन सरकारलाई सार्वजनिक रुपमै दबाब दिइरहेका छन् ।
एमाओवादीको प्रस्तावमा सरकारको नेतृत्व गर्न पाएका प्रधानन्यायाधिश खिलराज रेग्मीले यसअघि आफैंले गरेका फैसला अनुसार कृष्णप्रसाद अधिकारी हत्याका दोषिलाई कार्वाही गर्ने आँट देखाउन सकेका छैनन् ।
सन्तान सुखमा रमाईरहेका एमाओवादी नेताहरुलाई सन्तान वियोगको पीडा के हो भन्ने थाहा नै नभए जस्तो छ । तीन वटी श्रीमति भित्र्याएर ‘मर्द’ बनेका छोरा प्रकाशलाई राजनीतिमा सक्रिय बनाउने एमाओवादी अध्यक्ष दाहालले गोरखाका अधिकारी बुढाबुढीको सन्तान वियोगको पीडा कसरी बुझुन् ।
अधिकारी दम्पतीलाई अनसन तोड्न आग्रह गर्दै १२ भदौ बिहान वीर अस्पताल पुगेका कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग अधिकारी दम्पतीले छोराका हत्यारालाई कारबाही नभए आफूहरु बाँच्नुको कुनै अर्थ नहुने भन्दै नेताद्वयको आग्रह अस्वीकार गरेका छन् ।
न्यायको खोजी र पुत्र वियोगमा छटपटिएका नन्दप्रसादले देशमा कानूनको शासन भए आफ्ना छोराका हत्यारालाई हथकडी लगाउन कोइराला र खनाललाई भनेका थिए ।
“हामीलाई हाम्रो ज्यानको माया छैन, न्याय पाइदैन भने यस्तो संसारमा बाँचेर के गर्नु” उनीहरुले भने, “सक्नुहुन्छ भने अपराधीलाई हथकडी लगाएर मात्र हामीलाई अनशन तोड्न आग्रह गर्नुस ।”
यसअघि स्वास्थ्यमन्त्री विद्याधर मल्लिक र शान्तिमन्त्री रामकुमार श्रेष्ठलाई समेत अधिकारी दम्पतीले यस्तै जवाफ दिएका थिए ।
कृष्णप्रसादको हत्या भएको ९ वर्षपछि मानवअधिकार कर्मी, मानवअधिकार आयोगलगायतको दबाबमा सरकारले अनुसन्धान प्रक्रिया त शुरु गरेको छ । तर, अधिकारी दम्पती यो झुक्याउने खेल मात्रै भएको भन्छन् ।
२३ साउनमा गृहमन्त्री माधवप्रसाद घिमिरेले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी समक्ष ‘२९ जेठ २०६३ को मन्त्रिपरिषद बैठकले द्वन्द्वकालका मुद्दाहरुलाई अघि नबढाउने निर्णय गरेको’ कारण देखाउँदै अधिकारी हत्याको अनुसन्धान अघि बढाउन नसकिने जवाफ दिएकाले पनि वर्तमान सरकार कृष्णप्रसाद हत्याका दोषिलाई कार्वाही गर्न दृढ छ भन्नेमा अधिकारी दम्पती विश्वस्त हुन सकेका छैनन् ।
यत्रो दबाबपछि मात्रै आफ्ना नागरिकको हत्यासम्बन्धमा छानविनका लागि निर्देशन दिने सरकारले अधिकारी दम्पतीले भनेजस्तै साँच्चिकै अपराधीलाई कानूनको दायरामा ल्याउन पहिले अभियुक्तहरुलाई पक्राउ गरेर देखाउने आँट गर्न सक्नुपर्छ ।
नेताको सन्तान सुख
दुई छोरीको बिहेदान सकेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र हिंसाका बेला कान्छीको सिलीगुडीमा बिहे गरिदिए भने छोरा प्रकाशलाई भारतको जालन्धरमा माहिली छोरीकोमा राखेर पढाए। आफू भारतमा रहँदा आफूसँगै राखेका दाहालले २०५८ पछि छोरालाई आफ्नै ‘स्टाफ’का रूपमा राजनीतिमा ल्याएका थिए। ‘जनयुद्ध’ को अन्तिम समयमा ‘जनसेना’ बनेका प्रकाश लडाइँमा हैन, ‘हेडक्वार्टर’ मै रहे।
उता, बाबुराम भट्टराई र हिसिला यमीले एक मात्र छोरी मानुषीलाई ‘जनयुद्ध’ अवधिभर आफूसँगै भारतमा राखेर पढाए। अर्का प्रमुख नेता रामबहादुर थापाले युद्धकालमा छोरालाई देहरादुनमा पढाए भने टोपबहादुर रायमाझीले दिल्लीमा। अर्का नेता हरिबोल गजुरेलले जेठी छोरीलाई भारतको चेन्नईमा पढाए।
२०५९–६० पछि पार्टीमा उठेका नेताका छोराछोरी कहाँ छन्, के गर्छन् भन्ने आवाजलाई नेताहरूले ‘सुरक्षा’ लगायतका कारण देखाएर फासफुस पारे। नेता हरिभक्त कँडेलले त्यही बेला छोरालाई मेडिसिन पढ्न बङ्गलादेश पठाए भने मातृका यादवले शान्ति प्रक्रियामा आएसँगै छोरालाई मेडिसिन पढ्न ब्याङ्कक पठाए। यादवले द्वन्द्वकालभरि छोराछोरीलाई पटनामा पढाएका थिए भने दीनानाथ शर्माले नोयडामा। सीपी गजुरेलले पनि हुर्किसकेका छोराछोरीलाई ‘जनयुद्ध’मा लगाउनुपरेन।
‘युद्धकालीन प्रतिकूलता’मा पनि नेताहरूले सन्तानलाई राम्रो शिक्षादीक्षा दिनु राम्रै भए पनि अरुका छोराछोरीप्रति सहानभूति र न्यायको दृष्टिकोण नराख्नु भने अमानवीय ब्यवहार नै भन्नुपर्छ।
माओवादी छाडेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा भन्छन्, “बलिदान तलबाट भयो, माथिबाट चाहिं आफ्ना छोराछोरीलाई जोगाउने प्रयास मात्र भयो।”
सन्तान वियोगको पीडा अहिलेसम्म आक्रोश र बदलाको भावमा परिवर्तन भएको छैन, तर यसबाट सिर्जित शोक सर्वत्र छ। राहत, क्षतिपूर्ति, न्याय र थोरै भए पनि परिवर्तनका सपनाहरू पूरा हुँदा यस्तो शोकको व्यवस्थापन हुन सक्छ। तर, ‘क्रान्ति’बाट आएका नेताहरू न्यायकै बाटोलाई छेकथुन गर्न उद्यत देखिएका छन्, जसले व्यक्तिगत बदलाको भावना जगाउन सक्छ।
विस्तृतमा पढ्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस




