समाचारबिहीबार, भाद्र १३, २०७०
भयरहित निर्वाचन हुनुपर्छः अमेरिकी राजदूत
१३ भदौमा वीरगञ्ज आएका नेपालका लागि अमेरिकाका राजदूत पिटर डब्ल्यू बोडेले ४ मंसीरका लागि निर्धारित संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित हुनुपर्ने भन्दै निर्वाचन सफल बनाउन सबै राजनीतिक दल, युवा, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग आवश्यक रहेको बताएका छन् । उनले निर्वाचनमा सबैको सहभागिताका लागि सरकारले उपलब्ध साधनको प्रभावकारी प्रयोग गर्नु पर्नेमा पनि जोड दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत बोडेले भने, “निर्वाचनअघि उम्मेदवार र दलहरुले स्वतन्त्र रुपमा आफ्ना विचार मतदाताहरुसँग बाँडनका लागि उनीहरुको वाक स्वतन्त्रता र भेला हुन पाउने तथा घुमफिर गर्न पाउने स्वतन्त्रततामा आँच पुर्याइनु हुन्न ।”
उनले सबै दललाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह पनि गरेका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज
