समाचारशुक्रबार, भाद्र १४, २०७०

‘लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

हिमालखबर

लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच तालमेल र समझदारीको आवश्यकता रहेको भन्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यो आवश्यकता पूरा गर्न चुनावी तालमेल वा अन्य समझदारी गर्न सकिने बताएका छन् ।

“लोकतान्त्रिक शक्तिहरुबीच चुनावी तालमेल वा अन्य समझदारीका लागि गृहकार्य शुरु भएको छ, संविधान निर्माण र राजनीतिक स्थायित्वका लागि यो जरुरी छ,” नेता पौडेलले भने ।

१३ भदौमा तनहुँमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै पौडेलले देश निर्वाचनमा होमिइसकेको दाबी गर्दै ४ मंसीरमा निर्धारित निर्वाचन कुनै पनि शक्तिले विथोल्न नसक्ने बताए ।

उनले भने, “सबै दलहरु निर्वाचनको तयारीमा छन्, यो अवस्थामा पनि निर्वाचन हुन्छ कि हुँदैन भन्नु आश्चर्यजनक हो ।” पौडेलले अगाडि भने, “केही दलहरु निर्वाचनमा सहभागी हुन चाहँदैनन् भने यो उनीहरुको स्वतन्त्रता हो तर, ४ मंसीरमा निर्वाचन भई छाड्छ ।”

२ नम्बरबाट उम्मेदवारी दिने

उपसभापति पौडेल तनहुँको २ नम्बर निर्वाचन क्षेत्रबाट आफूले प्रत्यक्ष उम्मेदवारी दिने तयारीमा छन् । नेपाली कांग्रेसको १५ भदौमा हुने क्षेत्रीय भेलाले उम्मेदवारहरुको नाम सिफारिस गर्ने भएको छ ।

पार्टीका युवा तथा जनजाति नेताहरुले पनि २ नम्बरबाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेपछि पौडेलले उनीहरुलाई समानुपातिक तर्फबाट सभासद बनाएर आफू प्रत्यक्षमै निर्वाचन लड्ने तयारीमा रहेको बुझिएको छ  । त्यसैगरी १ नम्बर क्षेत्रबाट पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

३ नम्बर क्षेत्रबाट टिकट पाउनका लागि पार्टी जिल्ला सभापति ध्रुव वाग्ले, नेता कृष्णप्रसाद गौतम तथा ताराराज राना सक्रिय छन् । नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेलले पनि ३ नम्बरबाटै उम्मेदवारी दिन चाहनेहरुमध्ये पर्छन् ।

पवन पौडेल,  तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>