समाचारशुक्रबार, भाद्र १४, २०७०
दलहरुसँग राष्ट्रपतिको असन्तुष्टि

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत श्रष्टाहरु मोदनाथ प्रश्रित, प्रा.डा.योगेन्द्र प्रसाद यादव, ज्ञानमणि नेपाल, भुवन ढुङ्गाना, लोकवहादुर थापामगर र रेवतीरमण लाल राष्ट्रपति रामवरण यादवका साथमा । तस्वीरः रासस
शीतल निवासमा १४ भदौमा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले लामो समयसम्म द्वन्द्वमा फसेको मुलुकमा आन्दोलनका उपलब्धिहरु संस्थागत गर्न दलहरुको ध्यान नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति यादवले सबै मिलेर निर्वाचनमा सहभागी भई मुलुकलाई लामो संक्रमणबाट निकास दिन सुझाव समेत दिए ।
कार्यक्रममा साहित्यकार मोदनाथ प्रश्रितले परिवर्तनको नाममा विगतमा मुलुक जोगाउन महत्वपूर्ण योगदान पुर्याएका अग्रजहरुको अपमान गरेर साहित्यकारहरुले गम्भीर गल्ति गरेको टिप्पणी गरे ।
समारोहमा राष्टपति यादवले प्रज्ञा प्रतिष्ठानले प्रदान गरेका पुरस्कार विभिन्न स्रष्टाहरुलाई वितरण गरे । प्रतिष्ठानले रु. ४ लाख राशीको पृथ्वी प्रज्ञा पुरस्कारबाट साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरेको छ ।
त्यस्तै पुरातात्विक तथा संस्कृतिमा योगदान पुर्याएको भन्दै प्राध्यापक डाक्टर योगेन्द्रप्रसाद यादवलाई प्रज्ञा पुरस्कारबाट सम्मान गरएिको छ भने नेपाली भाषाको प्रवर्द्धनमा योगदान पुर्याएवापत नेपाल प्रज्ञा भाषा पुरस्कार ज्ञानमणी नेपालले प्राप्त गरेका छन् । दुवै पुरस्कारको राशी एक लाख रुपैयाँ छ ।
त्यसैगरी नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने भुवन ढुंगानालाई नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारबाट सम्मान गरीएको छ । लोकबहादुर थापा र रेवतीरमण लाललाई मातृ भाषा साहित्यमा योगदान पुर्याएवापत नेपाल प्रज्ञा मातृ भाषा पुरस्कारबाट सम्मान गरीएको छ । दुवै पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।
