समाचारशुक्रबार, भाद्र १४, २०७०
नेपालमा ६ रेक्टरस्केलको भूकम्प, दोलखा नजिक केन्द्रविन्दु
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख डा. सोमनाथ सापकोटाका अनुसार दोलखाको जिरीबाट करिव ८० किलोमिटर उत्तर तिब्बत केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भुकम्प गएको हो ।
अमेरिकी भूगर्भ विभागले चीनको तिब्बतस्थित छोङ्दुई केन्द्र भएर ४.९ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । तर, उक्त तथ्य गलत भएको सापकोटाले बताएका छन् । ४ सय किलोमिटर टाढा गएको भुकम्पको धक्का त्यती ठूलो हुन नसक्ने उनको भनाई छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने सिचुवान र युनान प्रान्तको सीमाक्षेत्रमा १० किलोमिटर गहिराई केन्द्र भएको ५.९ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पपछि भाग्ने क्रममा सामान्य घाइते भए पनि अहिलेसम्म कुनै ठूलो क्षति भएको थाहा भएको छैन ।
राति गएको भूकम्पको केन्द्रविन्दु नजिकै केन्द्रविन्दु बनाएर ४ घण्टापछि फेरि ५ रेक्टरस्केलको भूकम्प गएको छ । त्यसैगरी १५ भदौ विहान ६:१५ बजे चीन, भुटान र भारतीय सीमा क्षेत्रमा पर्ने जिझांग केन्द्रविन्दु रहेको ५.१ रेक्टरस्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अचानक भूकम्पको धक्का महसुस भएपछि राजधानीको धेरै मानिस घर बाहिर निस्केका थिए। करिब ४ सेकेन्ड कम्पन महशुस गरिएको यो भुकम्पका कारण अहिलेसम्म क्षति भएको विवरण भने प्राप्त भएको छैन।
