थप समाचारशनिबार, भाद्र १५, २०७०
सिरियामाथि आक्रमण गर्ने अमेरिकी संकेत
संयुक्त राष्ट्र सङ्घका निरीक्षकहरूले शनिबार सिरिया छोडेपछि सिरियामाथि सम्भावित आक्रमणको ढोका खोलिदिएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले सिरियाली राष्ट्रपति बसार अल–असादको सरकारविरुद्ध सैनिक कारबाही गर्ने विषयमा अन्तिम निर्णय गरिनसकेको बताए पनि आक्रमण गर्न सक्ने सङ्केत दिएका छन् ।
अमेरिकाले सिरियाले दमासकसको बाहिरी भागमा आफ्नै नागरिकको हत्याका लागि रासायनिक हतियार प्रयोग गरेको निष्कर्षमा पुग्नसकिने गुप्तचरको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा एक हजार ४२९ व्यक्तिको मृत्यु भएको र त्यसमा ४२६ बालबालिका रहेको जानकारी दिइएको छ ।
राष्ट्रपति ओबामाले ह्वाइट हाउसमा पत्रकारहरूलाई यस प्रकारको आक्रमण विश्वका लागि चुनौती भएको बताए ।
उनले महिला, बालबालिका तथा निरपराध नागरिकमाथि यस प्रकारले डरलाग्दो रूपमा ग्यास प्रहार गर्ने काम हुने कुरालाई स्वीकार गर्न नसकिने भन्दै यो आक्रमण अमेरिकी सुरक्षाका अभिरुचिका लागि चुनौती भएको दाबी गरे ।
उनले सिरियामाथि कारवाहीका विषयमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा सहमति हुननसेकोमा आलोचना गरे ।
ओबामाले सिरियामाथि कारवाहीका विभिन्न विकल्पमा अध्ययन भइरहेको तर जमिनमै सैनिक परिचालन भने नगरिने बताए ।
यसबीच संयुक्त राष्ट्र सङ्घका विशेषज्ञहरू दमासकसको बाहिरी भागमा भएको आक्रमणमा अनुसन्धान गरी शनिबार लेबनान आइपुगेका छन् । उनीहरूले सिरियामा रासायनिक हतियार प्रयोग भएको वा नभएको विषयमा प्रतिवेदन तयार गर्दैछन् ।
फ्रान्सले असादको शासनलाई बलियो सन्देश दिनुपर्छ भनी अमेरिकालाई समर्थन जनाएको छ । बेलायती सांसदहरूले सैनिक कारबाहीमा आफ्नो मुलुकको संलग्नतालाई अस्वीकार गरेका छन् ।
सिरियाको सबैभन्दा नजिकको साझेदार रसियाले अमेरिकी गुप्तचरको प्रतिवेदनमा प्रश्न गरेको छ र उसले संयुक्त राष्ट्र सङ्घको समर्थन नलिइ सैनिक कारवाही नगर्न चेतावनी दिएको छ । इरानले पनि रसियाको साथमा बोलेको छ ।
जर्मनी तथा क्यानडाले कुनै पनि सैनिक कारवाहीमा आफू आवद्ध नहुने बताएका छन् । टर्कीले भने सिरियामा आक्रमण गर्ने मात्र नभई शासन परिवर्तन हुनुपर्ने माग गरेको छ ।
भूमध्य सागरमा अमेरिकी क्रुज क्षेप्यास्त्र सहित युद्धकजहाज जम्मा हुने क्रम बढेको छ ।
एएफपी

