समाचारशनिबार, भाद्र १५, २०७०
साफ च्याम्पियनसीपमा नेपालको विजयी शुरुवात
दक्षिण एसियाली राष्ट्रका राष्ट्रिय टोली सहभागी साफ च्याम्पियनसीप फुटवल प्रतियोगिताअन्तर्गत १५ भदौमा दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले बङ्गलादेशलाई २–० गोल अन्तरले हराएको छ ।
नेपालका लागि अनिल गुरुङले खेलको १८ औँ मिनेटमा भोला सिलवालको पासमा हेडमार्फत गोल गरेका थिए । त्यस्तै नेपालका अर्का खेलाडी भरत खवासले खेलको ३१ औं मिनेटमा थप एक गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दवै पक्षबाट कुनै गोल हुन सकेन ।
जितसँगै समूह ए मा रहेको नेपालले महत्वपूर्ण ३ अङ्क जोडेको छ । फुटबल हेर्न करिब ३० हजार दर्शक रङ्गशाला आएको एन्फाले जनाएको छ ।
यसअघि सन् २०११ मा भएको सातौँ संस्करणमा भने नेपाल बङ्गलादेशसँग १–० पराजित भएको थियो ।
प्रतियोगिताअन्तर्गत १६ भदौ साँझ ६:३० बजे दशरथ रङ्गशालामा भारतले पाकिस्तानको सामना गर्नेछ ।
