थप समाचारआइतबार, भाद्र १६, २०७०
आसाराम बापु पक्राउ
भारत मध्यप्रदेशको इन्दौरबाट १५ भदौ राति पक्राउ परेका आसाराम बापुलाई १६ भदौ दिउँसो दिल्ली हुँदै राजस्थानको जोधपुर लगिएको छ, जहाँ उनको मुद्दामा सुनुवाई हुनेछ ।
सेतै दाह्री पालेर आध्यात्मिक–धार्मिक प्रवचन दिने आसाराममाथि उनकै छिंदवाड़ास्थित आश्रममा रहेकी १६ वर्षीया किशोरीलाई जोधपुर लगेर यौन शोषण गरेको आरोप लागेको छ । किशोरीमाथि बापुले जोधपुरमा शोषण गरेको उजुरी परेकोले उनलाई जोधपुर ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आसारामको गिरफ्तारीपछि उनका आश्रमहरुमा कडा सुरक्षाको ब्यवस्था गरिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मध्य रातमा प्रहरीले आशारामलाई पक्राउ गर्दा त्यहाँ उनका करिब १५०० अनुयायी रहेको बताइएको छ ।
आसारामका छोरा नारायण साईंले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनका बाबु ‘ट्राइजेमिनल न्यूरेलजिया’ नामक स्नायु सम्बन्धी रोगबाट पीड़ित भएको र जोधपुर जान सक्ने अवस्थामा नरहेको बताएका थिए । तर, चिकित्सहरुले राति नै स्वास्थ्य जाँच गरी उनलाई यात्रा गर्दा कुनै अप्ठ्यारो नहुने बताएपछि प्रहरीले नियन्त्रणमा लिई जोधपुर ल्याएको थियो ।
जोधपुर पुगेपछि आसारामले प्रहरी कार्यालयमा जान मानेका थिएनन् उनले प्रहरी कार्यालयमा गएपछि आफू अपवित्र हुने बताएको नवभारत टाइम्सको अनलाई संस्करणले जनाएको छ ।
आसारामसँग सोधपुछ पछि प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने छ । उनका समर्थकहरुबाट हुनसक्ने संभावित विरोधलाई ध्यानमा राखेर जोधपुर आश्रम खाली गराइएको छ ।

