समाचारआइतबार, भाद्र १६, २०७०

‘जीवनमा रगत नै मुख्य रहेछ’

हिमालखबर

‘‘फ्रेस ब्लड दिने मान्छे पाइएन भने मरिएला जस्तो छ, सन्तान त सबैले जन्माएका छन्, मैले मात्र किन यस्तो कष्ट भोग्नुपर्‍यो ?’’ दुई महिनादेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत् सिन्धुपाल्चोककी ३० वर्षीया शारदा खड्काले पिरलो गरिन् ।

‘‘डाक्टरले १० प्रतिशत मात्र बाँच्ने आशा छ भनेका छन्, तर एक प्रतिशत आशा भएसम्म उपचार गराइरहन्छु,’’ शारदाका पति बद्री नेपालको अठोट थियो ।

जन्डिस भएको बेलामा शल्यक्रिया गरी बच्चा जन्माउँदा रगत जम्ने खतरा भएकाले शारदालाई ताजा रगत चाहिएको थियो । ताजा रगत पाउन नसकेपछि महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक उज्ज्वल पौड्याललाई सम्पर्क गरेर एकजना प्रहरी जवान लगियो र उनको रगत मिलेपछि शल्यक्रिया भयो । ‘‘मानिसको जीवनमा रगत नै सबैभन्दा मुख्य रैछ’’, शल्यक्रिया सफल भएपछि बद्रीले हँसिलो मुहारमा भने ।

शारदा जस्तै धेरै गर्भवती, दुर्घटनाबाट घाइते आदिलाई ताजा रगतको आवश्यकता पर्दछ । तर भनेको बेलामा आफ्नो शरीरमा मेल खाने रगत पाउन त्यति सजिलो भने छैन ।

नेपालमा पहिलोपटक ७० वर्षअघि समाजसेवी दयावीरसिंह कंशाकारले रक्तदान गरी ‘रक्तदान जीवनदान’ को पुनित अभियान शुरु गरेका थिए । तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरी यो अभियानलाई अघि बढाउन सहयोग पु¥याएका थिए । प्रेमसागर कर्माचार्य नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्ति हुन् । ए पोजेटिभ रगत भएका उनले हालसम्म १३५ पटक रक्तदान गरिसकेका छन् ।

‘‘रक्तदान गर्दा शरीर कमजोर हुँदैन, शरीरमा खेर जाने रगतबाट अर्को मानिसको ज्यान बचाउन सकिन्छ भने दिनुपर्छ ।’’ नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्य भन्छन् ।

रगतमा सबैभन्दा बढी माग ए र ओ पोजिटिभ त्यसपछि बी पोजेटिभको हुन्छ । केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रकी जनसम्पर्क अधिकृत शोभा विष्ट भन्छिन्, ‘‘असार, साउनजस्तो खेती गर्ने महिना, पानी पर्ने महिना, धार्मिक पर्वहरु, क्याम्पसहरु बिदा भएको बेला रगतको अभाव हुन्छ, त्यस्तो बेलामा तुरुन्तै रक्तदान कार्यक्रम आयोजना गरी रगत सङ्कलन गर्नुपर्ने हुन्छ ।’’

केन्द्रकाअनुसार काठमाडौँमा मात्र दैनिक सरदर ७०० युनिटभन्दा बढी रगतको माग हुन्छ । त्यसमध्ये ६०० युनिटको हाराहारीमा रगत सङ्कलन हुन्छ । केही रगत जगेडामा राखिन्छ । रगत काठमाडौँमा नै बढी सङ्कलन हुन्छ र माग पनि काठमाडौँमा नै बढी हुने गरेको छ ।

अरु दिनको तुलनामा शनिबार र बिदाको दिन बढी सङ्कलन हुन्छ, ताजा रगत नभएको अवस्थामा जगेडा रगत प्रयोग गरिन्छ भने ताजा नै चाहिएको अवस्थामा आफैले रगतको समूह मिल्ने मानिस खोजेर ल्याउनुपर्ने पनि हुन सक्छ ।

विश्वमा वैज्ञानिकहरुले लगभग ५०० प्रकारका रगतका समूहहरु पत्ता लगाइसकेका छन् तर रक्त सञ्चार गर्न ए, बी, एबी, ओ पोजेटिभ र ए, बी, एबी, ओ नेगेटिभ मुख्य मानिन्छन् ।

सामान्यतयाः ४५ केजीभन्दा माथि तौल भएका १८ देखि ६० वर्षसम्मका स्वस्थ्य मानिसले रक्तदान गर्न सक्दछन् । एक व्यक्तिले हरेक तीन महिनाको अन्तरालमा वा वर्षमा बढीमा चार पटक रक्तदान गर्न सक्दछ ।

छारेरोग, क्षयरोग, यौनरोग, मधुमेह, दम, उच्च वा न्यून रक्तचाप, मिर्गाैलाको रोग, मुटुको रोग, एचआइभी सङ्क्रमित, औषधि सेवन गरिरहेको अवस्थामा र लागुपदार्थ दुव्र्यसनमा लागेका व्यक्तिहरुले रक्तदान गर्न हुँदैन । रजस्वला भएका महिलाले आठ दिनसम्म रक्तदान गर्न हुँदैन भने स्तनपान गराइरहेको अवधि र गर्भवती अवस्थामा पनि रक्तदान गर्न हुँदैन ।
कालिका खड्का, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>