समाचारआइतबार, भाद्र १६, २०७०
सापकोटालाई सिफारिस गरिएकोमा आपत्ति
द्वन्द्वपीडित टुहुरा समाज, नेपाल, द्वन्द्वपीडित राष्ट्रिय समाज, बाँदरमुढे घटना पीडित सरोकार समिति, द्वन्द्वपीडित अपांग संघ, न्यायका लागि द्वन्द्वपीडित समाज, नेपाल, द्वन्द्वपीडित तथा कृषक हकहित संरक्षण समाज, नेपाल माओवादी पीडित संघले संयूक्त विज्ञप्ति प्रकाशित गरेर सिन्धुपाल्चोक जिल्लाबाट संविधान सभा निर्वाचनमा उम्मेदवारीका लागि अग्निप्रसाद सापकोटाको नाम सिफारिस भएकोमा आपत्ति प्रकट गरेका छन् ।
उनीहरुले युद्ध–अपराध तथा मानवताविरोधी अपराध जस्ता जघन्य कार्यमा आरोपितलाई अदालती सफाई नपाएसम्म जनताको प्रतिनिधि बन्नबाट रोक लगाउने उच्चतम अन्तर्राष्ट्रिय नजीर र मान्यताको विरुद्ध भएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
एमाओवादी प्रवक्ता समेत रहेका सापकोटा अर्जुनबहादुर लामाको हत्यामा संलग्न रहेको भन्दै किटानी जाहेरी परेको र सर्वोच्च अदालतले उक्त हत्या घटनामा अनुसन्धान अघि बढाउन छुट्टै आदेश समेत दिएको अवस्था मा सापकोटालाई उम्मेदवार बनाउन नहुने उनीहरुले जिकिर गरेका छन् ।
उनीहरुले आम नागरिकलाई नै होच्याउने गरी अग्निप्रसाद सापकोटालाई एमाओवादीले आफ्नो राष्ट्रिय प्रवक्ता बनाएको कार्य आफैंमा आपत्तिजनक भएकोमा अहिले सापकोटालाई जिल्ला समितिले सिफारिश गरेर फेरि जनतामा लाद्ने कोशिश गरिएको बताएका छन् ।
