समाचारसोमबार, भाद्र १७, २०७०
एमालेमा निर्वाचन परिचालनको जिम्मा खनाललाई
पार्टी मुख्यालय बल्खुमा १७ भदौमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको संविधानसभा निर्वाचन कार्ययोजनालाई सुझावसहित सर्वसम्मत रूपमा पारित गर्दै खनालकै नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
निर्वाचन परिचालन कमिटीमा क्षेत्रीय अनुगमनकर्ताहरू क्रमशः उपाध्यक्षद्वय बामदेव गौतम (मध्य–पश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल), विद्या भण्डारी (पूर्वाञ्चल), सचिव द्वय युवराज ज्ञवाली (मध्यमाञ्चल), र शंकर पोखरेल (पश्चिमाञ्चल) सदस्य छन् ।
आसन्न संविधानसभा निर्वाचनमा आम राजनीतिक सहमति जुटाउन अन्तिम समयमसम्म पनि अधिकतम् प्रयत्न गर्ने निर्णय गर्दै बैठकले नेकपा–माओवादीलगायत असहमत दलहरूलाई लचिलो भएर वार्तामा आउन र संविधानसभा निर्वाचनमा सहभागी हुन पुनः आग्रह गरेको छ ।
यस्तै बैठकले अनेरास्ववियुको २१ औं राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सङ्गठन विभाग प्रमुख युवराज ज्ञवाली, मोर्चा सङ्गठन प्रमुख शंकर पोखरेल र विद्यार्थी फाँट प्रमुख भानुभक्त ढकाललाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यसैगरी युवा संघ, नेपालभित्र उत्पन्न समस्या समाधान गर्न युवा फाँट प्रमुख शेरबहादुर तामाङ्, युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेत र उपाध्यक्ष झपट रावललाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
यसअघि १७ भदौमै बसेको स्थायी कमिटीको बैठकले निर्वाचनका लागि उम्मेदवार तय गर्ने सम्बन्धमा निर्वाचन क्षेत्रको सिफारिसका आधारमा जिल्लामा सिफारिस गर्ने र जिल्लाको सिफारिसलाई अञ्चल कमिटीको रायसहित पार्टी केन्द्रीय कमिटीमा ल्याउने निर्णय गरेको थियो ।
यही भदौ १५ देखि शुरु बैठकको समापन गर्दै अध्यक्ष झलनाथ खनालले अब पार्टीको सम्पूर्ण ध्यान र ऊर्जा निर्वाचनको तयारीमा लगाउन, पार्टीभित्र पैदा हुनसक्ने सबै समस्यालाई सकारात्मक रूपमा समाधान गर्न तथा आसन्न संविधानसभाको निर्वाचनमा एमालेलाई बहुमत दिलाउन सिङ्गो पार्टी पंक्तिलाई एकताबद्व र क्रियाशील हुन आह्वान गरेको एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीसँगै निर्वाचनसम्बन्धी घोषणापत्रको तयारीको नेतृत्व पनि अध्यक्ष खनालले गर्ने निर्णय गरेको छ ।
