समाचारबुधबार, भाद्र १९, २०७०
हिमाल सर्वेक्षण: निर्वाचन ४ मंसीरमै
सरकारसँगको वार्ता असफल भएपछि मोहन वैद्य नेतृत्वको माओवादी सहितका विपक्षी दलले ४ मंसीरको निर्वाचन बिथोल्ने घोषणा गरेका छन् । तर, कतिपय नेताहरू चाहिं चुनाव सारेरै भए पनि विपक्षीसँग वार्ता गरी समाधान खोज्नुपर्ने तर्क गरिरहेका छन् ।
गत साता हिमाल ले देशका प्रमुख १२ शहरका ३७६ जनासँग गरेको सर्वेक्षणले ४ मंसीरमै निर्वाचन गर्नुपर्ने पक्षमा जनमत देखाएको छ । ‘तपाईंको विचारमा ४ मंसीरमै संविधानसभा निर्वाचन हुनु महत्वपूर्ण हो कि, वैद्य नेतृत्वको माओवादी लगायतका दललाई समेत निर्वाचनमा सहभागी गराउन निर्वाचनको मिति सार्नु ठीक हो ?’ भन्ने प्रश्नमा ५४ प्रतिशत उत्तरदाताले ४ मंसीरमै निर्वाचन गर्नुपर्ने बताए ।
३१.६ प्रतिशतले वैद्य माओवादीलाई समेत निर्वाचनमा ल्याउन मिति सार्नुपर्ने बताए भने १२.८ प्रतिशतले थाहा नभएको उत्तर दिए ।
४ मंसीरमै निर्वाचन गर्नु ठीक भएको जवाफ दिनेमा सुदूरपश्चिमाञ्चलका ६४, पूर्वाञ्चलका ५७.३, मध्यपश्चिमाञ्चलका ५४, मध्यमाञ्चलका ५२.३ र पश्चिमाञ्चलका ५० प्रतिशत छन् ।
‘वैद्य नेतृत्वको माओवादी सहितको मोर्चालाई बाहिरै राखेर ४ मंसीरको संविधानसभा निर्वाचन सम्भव होला ?’ भनेर सोधिएको प्रश्नमा ४४.४ प्रतिशतले सम्भव भएको बताए । ३५.४ प्रतिशतले सम्भव नभएको बताए भने १९.४ प्रतिशतले थाहा नभएको जवाफ दिए ।
चुनाव सम्भव छ भन्नेमा सबैभन्दा धेरै पूर्वाञ्चलका ५६ र सम्भव छैन भन्नेमा सबैभन्दा धेरै पश्चिमाञ्चलका ५२ प्रतिशत छन् ।
‘एउटा महत्वपूर्ण शक्ति बाहिरै रहेर बनेको संविधानसभाको वैधानिकतामाथि प्रश्न उठ्छ कि उठ्दैन ?’ भन्ने प्रश्नमा ४६.५ प्रतिशतले वैधानिकतामा प्रश्न उठ्ने उत्तर दिए । २८.७ प्रतिशतले नउठ्ने र २३.९ प्रतिशतले थाहा नभएको जवाफ दिए ।
वैद्य माओवादी सहितका दल विनाको चुनावको वैधानिकतामाथि प्रश्न उठ्छ भन्नेमा सबैभन्दा धेरै स्नातकोत्तर तह वा सोभन्दा माथि अध्ययन गरेका ७५.९, स्नातक तह पढेका ५३, प्रमाणपत्र तह पढेका ४६.४ तथा एसएलसी तह पढेका ५३.६ प्रतिशत छन् ।
‘नेकपा–माओवादी लगायत केही दल बाहिरै रहँदा भोलिका दिनमा मुलुकको राजनीति थप जटिल बन्ला कि नबन्ला ?’ भनेर सोधिएको प्रश्नमा ४३.४ प्रतिशतले जटिल बन्ने बताए । १४.९ प्रतिशतले राजनीति जटिल नबन्ने बताए भने २७.९ प्रतिशतले प्रमुख दलहरू एकजुट भएमा केही फरक नपर्ने तथा १३.३ प्रतिशतले थाहा नभएको जवाफ दिए ।
‘वैद्य माओवादीले उठाएका सबै माग पूरा गरेको भए ऊ निर्वाचनमा आउँथ्यो होला ?’ भन्ने प्रश्नमा ३७.८ प्रतिशतले आउँथ्यो र २८.५ प्रतिशतले आउँदैनथ्यो भन्ने जवाफ दिए भने ३२.७ प्रतिशतले थाहा नभएको बताए ।
यद्यपि, बहुमत उत्तरदाताले वैद्य नेतृत्वको माओवादी लगायतका विपक्षी दल ४ मंसीरको निर्वाचनको बाधक रहेको बताएका छन् । ‘तोकिएको निर्वाचनको मुख्य बाधक को होला ?’ भन्ने प्रश्नमा २७.९ प्रतिशतले वैद्य माओवादी लगायतका विपक्षी दललाई दोष दिए ।
१३.८ प्रतिशतले चार प्रमुख दल तथा १६.५ प्रतिशतले चारदलीय उच्चस्तरीय राजनीतिक समितिलाई दोष दिए । चुनावको बाधक सरकार भएको जवाफ दिने ५.१ प्रतिशत भेटिए । ८ प्रतिशतले विदेशी शक्तिलाई, ६.६ प्रतिशतले एमाओवादीलाई निर्वाचनको मुख्य बाधक ठहर्याए भने २१.५ प्रतिशतले थाहा नभएको बताए ।
