समाचारबिहीबार, भाद्र २०, २०७०

संघीय समाजवादी पनि निर्वाचनमा आउने

हिमालखबर

उच्चस्तरीय राजनीतिक समिति र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच १९ भदौ साँझ भएको वार्तामा संविधानसभाको सदस्य संख्या ६ सय १ बनाउने र सर्वदलीय सम्मेलन गर्ने सैद्घान्तिक सहमति भएको छ ।

सम्मेलनको प्रक्रिया विधि र त्यसका एजेन्डालगायत विषयमा भने थप छलफल गर्नु पर्ने भएकाले सहमतिमा औपचारिक हस्ताक्षर भने हुन सकेन ।

लेखाइको भाषा नमिलेका कारण सहमति हुन नसकेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । संघीय समाजवादीका अध्यक्ष अशोक राईले पनि सहमित नजिक रहेको र आन्तरिक छलफलपछि छिटै औपचारिकता दिइने बताएका छन् ।

संख्या ६ सय १ बनाउने विषयमा सैद्घान्तिक असहमति जनाउँदै आएको उपेन्द्र यादव नेतृत्वको मोर्चा भने वार्तामा सहभागी भएन् । राजनीतिक समितिसँगको सहमतिपछि पछिल्लो समय समितिमा थपिएको यादव नेतृत्वको मोर्चाले संघीय समाजवादीलाई चुनावी प्रक्रियामा ल्याउन हुने सहमतिमा भने आपत्ति नजनाउने भएको छ । यादवले संविधानसभामा मनोनीत सदस्य राख्नै नहुने धारणा राख्दै आएका छन् ।

४ मंसीरमा हुने संविधान सभाको निर्वाचनमा सहभागी हुने निश्चित गरे पनि सबै सहमतिहरू सर्वदलीय सम्मेलनले स्वामित्व लिने गरी हुनुपर्ने उसको माग छ ।

संघीय समाजवादी निर्वाचनमा सहभागी हुने भए संविधान सभामा सदस्य संख्या ६०१ कामय गर्न १८ भदौमा बसेको उच्चस्तरीय समिति बैठकले निर्णय गरेको थियो ।

प्रमुख पार्टीहरूले पहिल्यै सहमति गरेर त्यसलाई अनुमोदन गराउने प्रयोजनका लागि सम्मेलन आयोजना गर्नुपर्ने पक्षमा छन् ।

उच्चस्तरीय समितिले अशोजको पहिलो सातामा सम्मेलन गर्नका लागि सरकारलाई आग्रह गर्ने जनाएको छ । ४ मंसीरको निर्वाचन मिति सार्ने र सरकार परिवर्तन गर्ने लगायतका कुनै पनि मागमा भने सम्मेलनमा छलफल गर्न नसकिने समतिमा आवद्ध दलहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>