समाचारशुक्रबार, भाद्र २१, २०७०
धनुषामा बच्चा चोरको बिगबिगी
२१ भदौ विहान ७ बजे जनकपुर नगरपालिका–३ देवान पोखरी नजिक घरबाहिर खेलिरहेका स्थानीय सन्तोष मेस्तरका तीन वर्षीय छोरालाई अपिरिचित महिलाले फकाएर लैजाँदै गर्दा स्थानीयले फेला पारी उद्दार गरेका छन् ।
भिखारीको भेषमा हिंडेकी उक्त महिलालाई स्थानीयले बच्चा किन लिएको भनेर सोद्धा उनी भागेकी थिइन् । यस्ता घटनाहरु जनकपुर क्षेत्रमा केही दिनदेखि भइरहँदा स्थानीय अभिभावकहरु त्रसित हुनु परेको हो ।
यसअघि २० भदौमा जनकपुर अञ्चल अस्पतालबाटै एक बालकलाई बोकेर लैजाँदै गरेकी महिलालाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाएका थिए । अस्पतालमा उपचारका लागि भर्ना भएका सिरहाका एक महिने बालकलाई चोरीको प्रयास गर्ने ती महिला भारत सीतामढीकी रिंकु महतो भएको प्रहरीले जनाएको छ ।
बालकका बाबु निदाइरहेको अवस्थामा ४ बजे बिहानै बालकलाई उठाएर भाग्न थालेकी रिंकुलाई समातेको बाबु विनोदले बताए ।
बच्चा चोरीका घटनाहरु सदरमुकाममा मात्र नभई पुष्पलपुर, भुईचक्रपुर, धारापानी, महेन्द्रनगर, धनुषाधाम सहितका गाविसहरुमा भएका खबर आएको छ ।
धनुषाधामबासीले जनकपुरबाट ठूला टर्चलाईट किनेर ल्याई रातमा पहरेदारी गरिरहेको स्थानीय अनिल साहले बताए ।
बच्चा चोरी गर्नुको कारण बारे अहिलेसम्म थाहा हुन सकेको छैन । कतिपय अभिभावकहरुले आफ्ना बालबालिकालाई खेल्नदेखि विद्यालय जानसमेत रोकेका छन् ।
मनिका झा, जनकपुरधाम
