समाचारशनिबार, भाद्र २२, २०७०
महिलाले प्रतिकार गरे, १२ बजेपछि बन्द फिर्ता
एमाओवादीले २२ भदौ विहान एक्कासी बन्द गरेपछि पर्व मनाउन हिंडेका सर्वसाधारणहरु अलपत्र परेका थिए । सबैतिरबाट बन्दको विरोध हुन थालेपछि एमाओवादीले मध्यान्ह १२ बजेपछि बन्द फिर्ता लिएको हो ।
काठमाडौंको कलंकीमा महिलाहरु बन्दको प्रतिकारमा उत्रेपछि एमाओवादी कार्यकर्ताहरुसँग झडप समेत भएको छ भने भृकुटीमण्डपमा पनि बन्द गराउँदै हिंडेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । कलकीको झडपमा केही माओवादी कार्यकर्ता र स्थानीय घाइते भएका छन् । —————————————————————————————————-
दर खाने दिनमा एमाओवादीको बन्द
गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोप लागेका कार्यकर्ता पक्राउ परेको विरोधमा एमाओवादीले गरेको बन्दले काठमाडौंको जनजीवन अस्तव्यस्त बनाएको छ ।
हिमालखबर
शनिबार , २२ भदौ २०७० १०:०३ एम
कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्त रामप्रसाद अधिकारी २१ जेठ अपराह्न काठमाडौंबाट पक्राउ परेपछि २२ भदौमा एमाओवादीले गोरखा, चितवन र काठमाडौ उपत्यकाका तीन जिल्ला बन्द गराएको छ ।
एमाओवादीले एक्कासी बन्द गराउने निर्णय गरेपछि सूचनाको अभावमा विहान भने गाडीहरु प्रशस्तै चलेका थिए । विहान ९ बजेपछि एमाओवादी कार्यकर्ताहरु सडकमा आएर अवरोध गर्न थालेपछि राजधानीको यातायात ठप्प भएको छ ।
अधिकारी हत्याको आरोपमा प्रहरीले काठमाडौंको डिल्लीबजारबाट माओवादी कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको थियो ।
तीजको दर खाने पर्वका बेला बन्द भएपछि सर्वसाधारण प्रभावित भएका छन् । दरखाने पर्व र भोली तीजको सरजाम जुटाउन लागेका महिलाहरुलाई बन्दले बढी प्रभाव पारेको छ ।
आफ्ना छोराका हत्यारालाई कारवाहीको माग गर्दै कृष्णप्रसादका बाबुआमा नन्दप्रसाद र गंगामाया डेढ महिनादेखि अनसनमा छन् । वीरअस्पालको आइसियुमा रहेका उनीहरुको अवस्था चिन्ताजनक छ ।
