समाचारशनिबार, भाद्र २२, २०७०
उत्तराखण्ड बाढीबाट पाँचहजार नेपाली प्रभावित
बद्रीनाथ, केदारनाथ र आसपासका क्षेत्रमा होटल, पसल सञ्चालनमा संलग्न, तीर्थयात्री बोक्ने डोले र तीर्थाटनका लागि भारतको उत्तराखण्ड पुगेका झण्डै पाँच हजार नेपाली असारमा गएको भिषण बाढी पहिरोका बेला त्यहीं रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपालीहरूको वस्तुस्थितिबारे सूचना सङ्कलन गर्न नयाँदिल्लीबाट अघिल्लो साता गएको नेपाली टोलीले तीन हजार ९०० डोले, १५८ जना होटल व्यवसायी, मन्दिर र नजिकका क्षेत्रमा साना पसल सञ्चालन गरेर बसेका तथा पूजाअर्चनाका लागि नेपालका विभिन्न स्थानबाट त्यहाँ पुगेका गरी पाँच हजार नेपाली नागरिक प्राकृतिक विपत्तिका बेला उत्तराखण्डमा रहेका जानकारी दिएको मन्त्रालयका प्रवक्ता दीपक धितालले बताए ।
उत्तराखण्डको बाढी पहिरोका कारण नेपालीले भारतीय रुपैयाँ ४० लाख बढीको धनमाल गुमाएको विवरण टोलीले सङ्कलन गरेको पनि उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा भएको धनमाल लुटपाटमा कुनै नेपालीको संलग्नता नरहेको जानकारी भारतीय अधिकारीहरूले नेपाली टोलीलाई दिएको उनले बताए ।
उत्तराखण्ड राज्य सरकारका अधिकारीहरूले नेपाली तीर्थयात्रीहरूको विवरण नेपालका ७५ वटै जिल्लाबाट सङ्कलन गर्नुपर्ने सुझाव टोलीलाई दिँदै आफूहरूसँग कति नेपाली प्रभावित/विस्थापित भए वा ज्यान गुमाए भन्ने वास्तविक तथ्याङ्क नरहेको जानकारी दिएका नयाँदिल्लीस्थित दूतावासलाई उद्धृत गर्दै प्रवक्ता धितालले भने ।
बाढीका बेला बद्रीकेदार तीर्थ यात्रा रहेकामध्ये हालसम्म एकसय ६५ जनामात्र सम्पर्कमा आएका छन् ।
उत्तराखण्डको विनाशकारी बाढीमा परी एकहजार भन्दा बढीको मृत्यु भएको र त्यति नै सङ्ख्यामा मानिस हराएका समाचार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरिसकेका छन् । बाढीले अर्बौंको लागतमा बनेका सडक, पुललगायत भौतिक संरचना ध्वस्त भएका थिए ।
रासस
