समाचारआइतबार, भाद्र २३, २०७०

नेपाल साफ उपाधि नजिक

हिमालखबर

दशरथ रंगशालामा साँझ ६:३० मा नेपालले अघिल्लो साफकै सेमीफाइनल प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह ए को विजेता नेपाल र समूह विको उपविजेता अफगानिस्तान दुबै समूह चरणमा अपराजित रह्यो ।

२० भदौमा साविक विजेता भारतलाई २–१ गोल अन्तरले पराजित गरेर तेस्रो पटक साउथ एशियन फूटबल फेडरेसन (साफ) कप प्रतियोगिताको सेमिफाइनलमा पुगेको नेपालले उपाधि उचाल्न दुई खेल जित्नुपर्नेछ । १५ भदौदेखि जारी आठौं साफको उपाधि दौडमा नेपालसँगै भारत, अफगानिस्तान र माल्दिभ्स छन् ।

राष्ट्रिय टीमका पूर्व कप्तान उपेन्द्रमान सिं नेपालले उपाधि जिते २० वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदक भित्रिने, अखिल नेपाल फूटबल संघ (एन्फा) लाई फूटबल विकास गर्न थप प्रोत्साहन मिल्ने र खेलाडीको आर्थिक हैसियत उल्लेखनीय रूपमा उठ्ने बताउँछन् । एन्फाले साफ च्याम्पियन बन्न सके सबै राष्ट्रिय खेलाडीलाई काठमाडौंमा एउटा अपार्टमेन्ट र आजीवन मासिक रु.१० हजार भत्ता दिने घोषणा गरेको छ ।

नेपाल बलियो
राष्ट्रिय टीमका कप्तान सागर थापा डिफेन्डिङ च्याम्पियन भारतलाई हराएर सेमिफाइनलमा पुगेकाले यो पटक नेपालमै ट्रफी राख्न सकिने स्थिति बनेको विश्वास गर्छन् । राष्ट्रिय टीमका पूर्वकप्तान हरि खड्का तीन खेलमा नेपालले देखाएको क्षमताले उपाधि जित्ने सपना विपना बन्ने सम्भावना बढाएको बताउँछन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक १३ गोल गरेका खड्काको विचारमा नेपाली स्ट्राइकरहरूले गोल गर्न थाल्नु उपाधि जित्ने बलियो आधार हो । यो पटक बंगलादेश विरुद्ध अनिल गुरुङ र भरत खवास, पाकिस्तान विरुद्ध विमल घर्ती मगर र भारत विरुद्ध अनिल र जुमानु राईले गोल गरेका थिए ।
ज्याक स्टेफनोस्कीभन्दा पहिले राष्ट्रिय टीमको प्रशिक्षक रहेका कृष्ण थापा ‘ग्रुप अफ डेथ’ मानिएको समूहबाट विजेता भएर दोस्रो चरणमा प्रवेश गरेकाले खेलाडीहरूको मनोबल उच्च बनेको बताउँछन् । सन् १९९९ र २०११ मा सेमिफाइनल पुग्दा नेपाल समूहको उपविजेता मात्र बनेको थियो ।

राष्ट्रिय टीममा सहायक प्रशिक्षक रहिसकेका पूर्व गोलरक्षक सिं लामो तयारी तथा विदेशको अभ्यासले खारिएकाले नेपाली खेलाडीले नकआउट चरणमा अझ् राम्रो प्रदर्शन गर्ने विश्वास गर्छन् । एकपछि अर्को खेलले खेलाडीहरूमा टीम स्पिरिट र लगाव बढाएको उनको बुझाइ छ । ‘दोस्रो हाफमा राम्रो खेल्न सक्दैन भन्ने आलोचना पनि भारत र पाकिस्तानसँगको खेलले गलत सावित गर्यो’ सिं भन्छन् । घरेलु मैदानको लाभ र दर्शकको समर्थन त छँदैछ ।

जित्ने उपाय
सिंको विचारमा खेलाडीले अतिविश्वासी भएर खेलेमा नकारात्मक परिणाम नआउला भन्न सकिन्न । आधा सगरमाथा चढे पनि लक्ष्य चुचुरो भएकाले आगामी तीन वटै खेललाई कम आँक्न नमिल्ने र हरेक खेलमा संघर्ष गर्नुपर्ने उनको ठहर छ ।

सन् १९९३ मा बंगलादेशमा भएको साफ खेलमा स्वर्ण पदक जित्दाका नेपाली टोलीका कप्तान राजुकाजी शाक्यको विचारमा नकआउट चरणमा खेल शैलीमा विविधता ल्याउनु आवश्यक छ । ए डिभिजन क्लब मच्छिन्द्रका प्रशिक्षक उनी ‘वन टच’, ‘हाई बल’, ‘लो बल’, ‘लाइन अप’, ‘क्रसिङ’ जस्ता रणनीति प्रयोग गर्दा मात्र जित्न सकिने मान्छन् । अनिल गुरुङ, सन्दिप राई, भोला सिलवाल, रविन श्रेष्ठको खेल राम्रो रहेको र प्रतिभाशाली रोहित चन्द सिर्जनात्मक हुन अझ्ै नसकेको मान्ने शाक्य भन्छन्, “एउटै शैलीमा खेल्दा विपक्षीले त्यस अनुसारको रणनीति बनाउने हुनाले अबको खेल भिन्न शैलीमा खेल्नुपर्छ ।”

पूर्व स्ट्राइकर खड्का चाहिं माल्दिभ्सका अलि अस्फाक, भारतका सुनील क्षेत्रीलाई ‘जोनल मार्क’ र ‘म्यान टु म्यान मार्क’ गरेर चल्न दिन नहुने सुझव दिन्छन् । टीम स्पिरिट र पाएको अवसरलाई गोलमा परिणत गर्ने स्ट्राइकरहरूको क्षमताले निरन्तरता पाए उपाधि जित्न सकिने उनको विश्वास छ ।

सन्त गाहा मगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>