समाचारबुधबार, भाद्र २६, २०७०
तेल चोर्नेलाई निगमको कारवाही
भारतको विहार बरौनी रिफाइनरीबाट नेपाल आयल निगमको पूर्वाञ्चल डिपो विराटनगरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा बाटोमै चोरी गर्ने ५० प्रतिशत ट्याङ्कर चालकलाई कारबाहीस्वरूप जरिवाना गरिएको नेपाल आयल निगमले जनाएको छ ।
विगत एक महिनामा ट्याङ्कर चालकमाथि गरिएको विशेष निगरानी एवम् जाँचको आधारमा १०० वटा आयात भएका ट्याङ्करको पेट्रोलियम पदार्थ जाँच गर्दा ५० वटा ट्याङ्कर चालकले अनियमितता गरेको पाइएकाले जरिवाना गरेको निगमका पूर्वाञ्चल क्षेत्रीय प्रमुख जगन्नाथ घिमिरेले जानकारी दिए । कारबाहीमा परेका ती सबै भारतीय ट्याङ्करका चालक हुन् ।
पम्प व्यवसायी, ट्याङ्कर ढुवानी व्यवसायी तथा निगमका कर्मचारीको गुनासोको आधारमा जाँच गर्दा चालकले अनियमितता गरेको पाइएपछि उनीहरूले पाउने सुविधाबाट कटौती गरी क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।
पूर्वाञ्चल डिपोबाट आर्थिक वर्ष २०६९÷७० मा पेट्रोल दुई करोड ६६ लाख ८४ हजार लिटर, डिजल नौ करोड ७० लाख लिटर, मट्टितेल ३२ लाख २६ हजार लिटर, ग्यास दुई करोड ८१ लाख केजी, फर्नेस आयल २३ लाख ६२ हजार लिटर तथा लाइट डिजल २५ लाख ८१ हजार लिटर बिक्री वितरण भएको छ ।
अघिल्लो आव २०६८/६९ मा पेट्रोल दुई करोड १९ लाख ६८ हजार, डिजल आठ करोड ५० लाख ५४ हजार, मट्टीतेल ५० लाख ९३ हजार, एलपीजी ग्यास दुई करोड १४ लाख ७४ हजार केजी, फर्नेस आयल सात लाख लिटर तथा लाइट डिजल १२ लाख बिक्री वितरण गरेको थियो ।
पूर्वाञ्चल डिपोका लागि भारतको बरौनी, हल्दिया, सिलिगुडी र बोगाइगाउँबाट पेट्रोलियम पदार्थ आयात हुने गरेको छ ।
त्यस्तै पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्कर सङ्ख्या २६५, ढुवानीकर्ता सङ्ख्या १५५ तथा पेट्रोलियम पदार्थ बिक्रेता सङ्ख्या ४५८ रहेको जानकारी प्रमुख घिमिरेले दिए ।
रासस
