समाचारबिहीबार, भाद्र २७, २०७०

संविधानमा ग्रहण नलागोसः सूर्यबहादुर थापा

हिमालखबर

राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले संविधानसभा निर्वाचनमा माओवादी लगायतका दलहरु सहभागी नहुँदा एउटा पक्ष संविधान निर्माणबाट अलग्गै रहेको सन्देश जाने र संविधानमा सबै नेपालीले स्वामित्व ग्रहण गर्ने अवस्था आउन नसक्ने बताएका छन् ।

निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुलाई सहभागी गराउन चार प्रमुख दल र सरकारले पहल गर्नुपर्ने भन्दै थापाले सरकार र चार दलले वार्तामा चासो नदेखाएकोले ४ मंसीरको निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुन नसकिएको बताए ।

“प्रक्रिया अघि बढेकोले निर्वाचन हुँदैन नै भन्न त सकिंदैन तर, केही दललाई बाहिर राखेरै गरिने निर्वाचन सूर्यग्रहण लागेजस्तो हुन्छ ।” उनले सबै दलको सहभागितबिना भएको निर्वाचनपछि बन्ने संविधान पनि ग्रहण लागेको सूर्य जस्तो हुने भन्दै थपे, “सूर्य त छ तर, ग्रहण लागेको छ भने जस्तै हुनेछ संविधान पनि ।”

२७ भदौमा धनकुटा जानका लागि विराटनगर विमानस्थलमा ओर्लिएका थापाले सञ्चारकर्मीसँग भने, “वार्ता भनेको केही घण्टा वा केही समयका लागि मात्रै होइन, लामो प्रक्रियाबाट, समय दिएर विवेकपूर्ण तरिकाले गर्नुपर्छ ।”

संविधान सभाको निर्वाचनमा सबैको सहभागिता नभएमा राष्ट्र विभाजित भएको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा जाने थापाको भनाई छ । उनले भने, “संसदको निर्वाचन भैदिएको भए केही दल सहभागी नभए पनि फरक पर्दैनथ्यो तर, संविधान सभाको निर्वाचन ख्यालठट्टाको विषय होइन । संविधानमा सबैको सहमति नभएको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा जानु प्रत्युपादक हुन्छ ।”

अध्यक्ष थापाले आगामी निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ २४० सिटमा उम्मेदवारी दिने र अत्यधिक सङ्ख्यामा विजयी हुने समेत दाबी गरेका थिए ।

‘दलालले दलाल चिन्छन्’

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘विदेशी दलालले निर्वाचन भाँड्न खोजेको’ भन्ने अभिव्यक्ति दिएकोप्रति लक्षित गर्दै संवाददाताले सोधको प्रश्नको जवाफमा थापाले दलाल को हो भन्ने आफूले नचिनेको बताए ।

उनले भने, “दलालले दलाललाई चिन्छन, हामी चिन्दैनौं, नेपाली जनताले चिन्दैनन् ।” आफूजस्तै जातका लाई मात्रै चिन्न सकिने भन्दै थापाले सुझाव दिए, “उनैले चिनेका होलान दलाललाई, हामी चिन्दैनौं, उनैलाई सोध्नुस ।”

कमल रिमाल, बिराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>