थप समाचारशुक्रबार, भाद्र २८, २०७०
आमाछोरी पहिरामा पुरिए
२७ भदौमा खेतमा घाँस काट्न गएका बेला एक्कासी माथिबाट पहिरो खसेपछि खोटाङ माक्पा–५ भदौरेकी २७ वर्षीया कमला आचार्य (कार्की ) को मृत्यु भएको छ भने उनकी आमा ६० वर्षीया राजकुमारी बेपत्ता भएकी छन् ।
इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार कमलासँगै पहिरोमा पुरिएकी आमा राजकुमारीको शव फेला नपरे पनि उनी जीवित फेला पर्ने अवस्था छैन ।
बेपत्ताको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् । करिब दुई सय मिटर माथिबाट पहिरो झरेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।
पहिराले स्थानीय कृषकले लगाएको करिब ८० मुरी धान फल्ने खेतसमेत बगाएको छ । करिब ३५ मिटरको चौडाइमा फैलिएको उक्त पहिराले स्थानीयवासी मानबहादुर कार्की, डम्बरबहादुर कार्की, मीनबहादुर गिरी र जगतबहादुर कार्कीको खेतमा लगाइएको धानबाली बगाएको हो ।
