समाचारशुक्रबार, भाद्र २८, २०७०
दिल्ली- सामूहिक बलात्कारका दोषिलाई मृत्युदण्ड
१६ डिसेम्बर २०१२ मा नयाँदिल्लीस्थित मुनिरका क्षेत्रमा २३ वर्षकी फिजियोथेरापीकी छात्रलाई सामूहिक बलात्कार गर्ने ६ जनामध्ये चार जनालाई ‘फास्ट ट्रयाक अदालत’ ले २८ भदौमा मृत्युदण्डको सजाय सुनाएको छ ।
बलात्कारका एक आरोपीले गत ११ मार्चमा जेलमै आत्महत्या गरेका थिए भने अर्का दोषी नाबालक भएकोले अदालतले तीन वर्षको कैद सजाय यसअघि नै तोकिसकेको छ ।
अदालतले यो घटनालाई अपवाद भन्दै सबै दोषिलाई मृत्युदण्डको सजाय तोकेको हो । फैसलामा उक्त घटनाले सम्पूर्ण देशलाई ‘हल्लाएको’ भनिएको छ ।
२३ वर्षीया युवतीको सामूहिक बलात्कारपछि उपचारका क्रममा सिंगापुरमा निधन भएको थियो । उक्त घटनापछि भारतमा ठूलो विरोध प्रदर्शन भयो जस्ले बलात्कार सम्बन्धी कानून सुधार र ‘फास्ट ट्रयाक अदालत’ गठन गर्न बाध्य पारेको थियो ।
फैसला हुनु केही दिन अघिदेखि नै ठूलो संख्यामा नागरिकहरुले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन गरिरहेका थिए ।
फैसलापछि प्रतिवादीका वकिलले फैसलालाई पक्षपातपूर्ण र राजनीतिप्रेरित भएको आरोप लगाएका छन् ।
