समाचारशुक्रबार, भाद्र २८, २०७०

सर्वदलीय बैठक निष्कर्षबिहिन

हिमालखबर

निर्वाचन प्रक्रियाको विरोधमा रहेका दलहरुलाई निर्वाचनमा सहभागी गराउने प्रयास स्वरुप  राष्ट्रपति रामवरण यादवको आह्वानमा २८ भदौमा बसेको बैठक नेकपा–माओवादीले राखेको प्रस्तावमा आन्तरिक छलफल गरी पुनः बस्ने भन्दै टुंगिएको छ ।

राष्ट्रपति यादव, उपराष्ट्रपति परमानन्द झा र १९ दलका नेताहरु सहभागी बैठकमा नेकपा–माओवादीले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्ने, संविधानका अन्तर्वस्तुमा निर्वाचन अगावै सहमति गर्नुपर्ने, गोलमेच सम्मेलन गर्नु पर्ने र निर्वाचन मिति चैतमा सार्नु पर्ने लगायतका प्रस्ताव राखेको छ ।

झण्डै ५ घण्टा चलेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै नेकपा–माओवादीका सचिव देव गुरुङले आफ्नो प्रस्तावलाई अरु दलले सकारात्मक लिएको बताए । उनले भने, “उहाँहरुले आन्तरिक छलफलका लागि एक दिनको समय माग गर्नुभएको छ ।”

कांग्रेस सभापति सुशील कोइरालाले छलफल सकारात्मक रहेको भन्दै थपे, “निर्वाचन चैतमा सार्न सकिन्न । वर्तमान सरकारको नेतृत्वमा नै निर्वाचन हुनुपर्छ ।”

एमाले अध्यक्ष झलनाथ खनालले पनि ४ मंसीरका लागि निर्धारित निर्वाचन सार्ने कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताए । उनले भने, “नेकपा–माओवादीका चारवटा प्रस्तावमध्ये दुईवटा मात्र सकारात्मक छन् । निर्वाचन सार्ने र वर्तमान सरकारको विघटन गरी अर्को सरकार गठन गर्ने विषयमा सहमति हुन सक्दैन ।”

यसअघि उच्चस्तरीय राजनीतिक समतिसँग भएको छलफलमा सहमति नभएपछि माओवादीले गोलमेच सम्मेलन गराउन राष्ट्रपतिसँग आग्रह गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>