समाचारआइतबार, भाद्र ३०, २०७०
जस्तोसुकै सहयोग गर्न भारत तयार: सचिब सिंह
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँगको भेटमा भारतीय विदेश मन्त्रालयकी सचिव सुजाता सिंहले निर्धारित मितिमा चुनाव हुनेमा आफ्नो देश विश्वस्त रहेको र त्यसनिम्ति जस्तोसुकै सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएकी छन् ।
दुई दिने औपचारिक भ्रमणमा २९ भदौमा नेपाल आएकी सचिव सिंह र अध्यक्ष रेग्मीबीच ३० भदौ विहान भएको भेटमा नेपाल–भारत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्रबहादुर थापाले बताएका छन् ।
यसअघि २९ भदौ साँझ सिंहले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेकी थिइन् । आज उनले राष्ट्रपति रामवरण यादव र अन्य नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ ।
भेटमा अध्यक्ष रेग्मीले ४ मंसीरमा हुने संविधान सभा निर्वाचनमा मतदान गर्न नेपाली जनता आतुर भएको र सरकारको सम्पूर्ण ध्यान चुनावप्रति केन्द्रित भएको बताएका थिए ।
