समाचारआइतबार, भाद्र ३०, २०७०
‘निर्धारित मितिमै चुनाव हुनेमा भारत विश्वस्त’
नेपालको भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि ३० भदौमा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भारतीय विदेश सचिवले सुजथा सिंहले निष्पक्ष एवम् स्वतन्त्ररुपमा चुनाव सम्पन्न गर्न नेपाल सरकारलाई थप सहयोग प्रदान गर्न भारत तयार रहेको भन्दै ४ मंसीरमा संविधान सभा निर्वाचन हुनेमा भारत विश्वस्त रहेको बताइन् ।
उनले आफूले नेपालका विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गर्दा उनीहरूले ४ मंसीमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकाले चुनावप्रति आशंका नगर्न आग्रह गरिन् ।
केही भारतीय सञ्चार माध्यममा ‘भगवान गौतम बुद्ध भारतमा जन्मेका’ भन्ने प्रचार भइरहेकोप्रति सचिव सिंहले भनिन्, “बुद्धको जन्मस्थल लुम्बिनी हो । लुम्बिनी नेपालमा पर्छ ।”
नेपाल बसाइका क्रममा आफूले राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, परराष्ट्र सचिव अर्जुनबहादुर थापासँग बेग्लाबेग्लै भेटेर नेपालको राजनीतिक स्थायित्व र विकासमा भारतको सहयोग र सद्भाव सधैँ रहिरहने सन्देश प्रवाह गरेको उनको भनाई थियो ।

