समाचारसोमबार, भाद्र ३१, २०७०
कृष्णप्रसाद हत्याका आरोपीलाई १० दिन म्याद थप
जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि अदालतमा पेस गरेपछि जिल्ला अदालत चितवनले लका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
काठमाडौंमा पक्राउ परेका अधिकारीलाई चितवन ल्याएर अनुसन्धान थालिएको छ । अदालतले दिएको १० दिनको म्यादभित्र अनुसन्धान पूरा नभएपछि म्याद थपका लागि पेस गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए ।
अधिकारी हत्या अभियोगमा किटानी जाहेरी परेका अन्य १० जना भने पक्राउ परेका छैनन् । अधिकारीलाई पहिलो पटक चितवन जिप्रकाले २३ भदौमा १० दिन म्याद थप गराई अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीले अन्य आरोपितहरुको खोजी कार्य जारी रहेको बताएपनि आफन्तजनले भने प्रहरीले खोजी कार्यमा चासो नदेखाएको बताएका छन् ।
कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले लामो समयसम्म आमरण अनशन बसेपछि चौतर्फी दबाबका कारण सरकारले रामप्रसादलाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएपछि अधिकारी दम्पतीले अन्य आरोपीहरुलाई पनि छिटै पक्राउ गर्नेलगायतका बुँदामा सरकारसँग सहमति गरी अनशन तोडेका थिए ।
चितवनको रत्ननगरमा हजूरबुबा र हजूरआमा भेट्न आएका अधिकारीको अपरहणपछि २०६१ जेठ २४ गते माओवादीले हत्या गरेको थियो ।
रासस
