समाचारसोमबार, भाद्र ३१, २०७०

वैद्यले अडान छोडेनन्, कुरा जहाँको त्यहीं

हिमालखबर

उच्चस्तरीय राजनीतिक समितिको कार्यालय नयाँ बानेश्वरमा भएको वार्तामा नेकपा-माओवादीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र दलीय सहभागितामा सरकार गठन गर्नुपर्ने भनी अघि सारेका प्रस्तावमा कुनै प्रगति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको छ ।

वार्तामा माओवादीले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने प्रस्तावलाई पुनः दोहोर्‍याएको थियो ।

४ मंसीरमा संविधानसभा निर्वाचन सम्भव नभएको भन्दै मोर्चाले त्यसका लागि मिति सार्नुपर्ने र मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने शर्त अगाडि सारेपछि उच्चस्तरीय राजनीतिक समितिले उक्त शर्त स्वीकार गर्न नसकेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलले भने, “मंसीर महिनाभित्र विभिन्न प्राविधिक र व्यावहारिक विषय मिलाएर केही दिन निर्वाचनको मिति सार्न सकिन्छ, वाधा अड्काउ फुकाउमा पनि केही लचक हुन सकिन्छ भनेर समितिको तर्फबाट राखिएको प्रस्ताव माओवादीले अस्वीकार गरेका कारण कुनै पनि सहमति हुन सकेन, तैपनि वार्ताको ढोका भने बन्द भएको छैन ।”

वैद्य नेतृत्वको मोर्चा सहभागी नभएपनि निर्वाचनको प्रक्रिया अगाडि बढाउने उच्चस्तरीय समितिको धारणा रहेको पनि पौडेलले बताए ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वार्तामा कुनै पनि विषयमा प्रक्रिया अगाडि बढ्न नसकेका कारण स्थिति जहाँको त्यहीं रहेको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भने, “ हामीले ४ मंसीरको निर्वाचनमा सहभागी हुन् आग्रह गर्‍यौं, उहाँहरु (नेकपा–माओवादी नेतृत्वको मोर्चा) मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको राजीनामा र निर्वाचनको मिति सार्ने पुरानो अडानमा कायम रहनुभयो जसका कारण कुनै पनि सहमति हुन सकेन ।”

नेकपा एमालेका नेता रघुजी पन्तले वैद्य नेतृत्वको मोर्चाले वार्ताको प्रक्रियालाई लम्ब्याउँदै मंसीरमा निर्वाचन हुन नदिनतर्फ लागेको शंका ब्यक्त गरे ।

उता नेकपा–माओवादीका सचिव देव गुरुङले भने उच्चस्तरीय समितिले प्रधान्यायाधीशको पदबाट रेग्मीलाई राजीनामा गराउन नसक्ने बताएपछि  वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको बताए । “हामीले अन्तरिम संविधानको धारा ३८(१) अनुसार बृहत् राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने प्रस्ताव राख्यौं, सो प्रस्ताव स्वीकार गर्न नसकिने बताइएपछि वार्ता प्रक्रिया अगाडि बढ्न सकेन” – सचिव गुरुङले भने ।

राष्ट्रपतिले भने, “मैले परामर्श गर्नेमात्रै हो”

वार्ता असफल भएपछि उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध चार दलका नेताहरु र नेकपा–माओवादीका नेताहरुले राष्ट्रपति  रामवरण यादवलाई बेग्लाबेग्लै भेटी  वार्ता असफल भएको जानकारी गराएका छन् ।

३१ भदौ राति राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति यादवसँग भएको भेटमा ४ मंसीरका लागि निर्धारित संविधानसभा निर्वाचनमा सहभागी हुन समितिले गरेको आग्रहलाई वैद्य नेतृत्वको मोर्चाले अस्वीकार गरेको जानकारी गराएको नेपाली कांग्रेसका नेता  मिनेन्द्र रिजालले बताए ।

“वार्ताका बारेमा राष्ट्रपतिलाई  जानकारी गरायौँ, उहाँले मुलुक अन्यौलता र अस्थिरतामा नजाओस्, सहमतिबाट सबै दललाई निर्वाचन प्रक्रियामा ल्याउनुपर्छ भन्नुभयो,” नेता रिजालले भने ।

नेकपा–माओवादीका सचिव देव गुरुङले आफूहरू निर्वाचनमा सहभागी हुन तयार रहे पनि  प्रमुख राजनीतिक दलहरूले आफ्ना माग माग सुन्न तयार नहुँदा वार्तामा प्रगति हुन नसकेको बारेमा जानकारी गराएको बताए ।

उनले राष्ट्रपतिलाई सहमतिका लागि समन्वयकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरे पनि राष्ट्रपतिले आफूले दलहरूसँग परामर्श गर्न मात्र सक्ने र, मुख्य भूमिकामा नभएकाले अरू कुनै पनि काम गर्न नसक्ने जानकारी गराएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>