थप समाचारमंगलबार, आश्विन १, २०७०
तीन महिनादेखि बन्द पाटन क्याम्पस
गत जेठमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएपछि स्ववियु सभापतिको वैद्यता सकिएको भनी क्याम्पस प्रमुख अमन श्रेष्ठले अभिव्यक्ति दिएको विषयबाट शुरु भएको विवादले पाटन बहुमुखी क्याम्पस तीन महिनादेखि बन्द छ ।
क्याम्पस प्रमुख श्रेष्ठले हरेक काममा एमाओवादीको पक्षपोषण गरेको, गुण्डागर्दीलाई बढावा दिएको, क्याम्पसको आम्दानीको हिनामिना गरेको आरोप लगाउँदै आएका स्ववियु सभापति झपेन्द्र खत्रीको पदावधि मान्य नहुने भन्दै उनलाई बैठकमा जान नदिने क्याम्पस प्रमुखले बताएपछि विवाद चुलिएको थियो ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन स्थगित भएका कारण अघिल्लो कमिटीले स्ववियुको मान्यता पाउँछ भने पनि क्याम्पस प्रमुखले अस्वीकार गरेपछि झपेन्द्र खत्री आबद्ध रहेको अनेरास्ववियुले १० असारमा क्याम्पस प्रमुख श्रेष्ठविरुद्ध उत्रिएको थियो त्यसको । प्रतिकारमा ओर्लिएको एमाओवादी निकट अखिल क्रान्तिकारीसँग भिडन्त भएपछि क्याम्पस बन्द भएको हो ।
व्यवस्थापन समिति, प्राध्यापक सङ्घ र अभिभावकलाई बेवास्ता गर्दै क्याम्पस प्रमुख श्रेष्ठले अनिश्चितकालीन बन्दको सूचना टाँस गरी पोखरा भ्रमणमा निस्केका थिए ।
नेविसङ्घ क्याम्पस एकाइका सभापति दीपेन बास्तवाको अग्रसरतामा वैद्य पक्षको अखिल क्रान्तिकारीका एकाइ अध्यक्ष ईश्वरी गुरागार्इं, अखिल छैटौका एकाइ अध्यक्ष बसन्त खनाल, अखिलका एकाइ अध्यक्ष केशवराज ढकाल, स्ववियु सभापति झपेन्द्र खत्री समेतलाई लिई विवादको समाधान निकाल्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई गुहार माग्दासमेत विश्वविद्यालय प्रशासनले पनि चासो दिएको छैन ।
नेविसङ्घ एकाइका सभापति बास्तवाले भने, “एमाओवादीबाहेकलाई असहयोग गर्ने, आर्थिक पारदर्शिता राख्न नसक्ने क्याम्पस प्रमुखको स्वभाव नबदलिएको कारण मात्र क्याम्पस बन्द भएको हो, त्यसैले उनको राजीनामा उत्तम विकल्प हो ।
पाटन संयुक्त क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष डा गोविन्दनारायण झाले क्याम्पस प्रमुखको स्वभावकै कारण अहिलेसम्म क्याम्पस नखुलेको बताएका छन् ।
“क्याम्पस बन्द गर्ने कुरामा पनि कसैको सल्लाह नलिई आफूखुसी आफैंले बन्द गर्ने सूचना प्रकाशित गर्नुभयो, जवकी त्रिभुवन विश्वविद्यालयको स्वीकृत लिएर व्यवस्थापनको निर्णयबाट मात्र बन्द गर्न सकिन्छ, तर उहाँले कसैलाई सोध्न भएन” झाले भने ।
प्रमुख श्रेष्ठले भने आफूलाई क्याम्पस प्रवेश गर्न नदिने भनेकाले ज्यान जोखिम राखेर क्याम्पस खोल्न नसकिने बताए ।
मल्टी कम्प्लेक्स कम्पनीलाई ३० वर्षे लिजमा दिइएको पुल्चोेकस्थित झन्डै रु १० करोड बराबरको १० रोपनी जग्गाको भाडा अध्यावधिक गर्नुपर्नेमा क्याम्पस प्रमुख श्रेष्ठले कमिसन खाएर भाडा बढाउन आनाकानी गरेको विद्यार्थी, प्राध्यापक र कर्मचारीले आरोप लगाएका छन् ।
