समाचारबुधबार, आश्विन २, २०७०
राज्य लागेपछि…
रामेश्वर बोहरा

सडकविस्तारका क्रममा सम्पूर्ण घर भत्केर बाँकी रहेको सानो कोठामा भक्कानिंदै लाजिम्पाटकी लक्ष्मी तुलाधार
सरकारले यो वर्षको निजामती सेवा दिवसमा पुरस्कृत गरेका ४१ जना निजामती कर्मचारीमा पनि सर्वोत्कृष्ट ठहरिए, भाइकाजी तिवारी । २१ भदौको मन्त्रिपरिषद् बैठकले सर्वोत्कृष्ट मानेका उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त छन् । दुई वर्षदेखि शुरू भएको राजधानीको सडक विस्तारका लागि उनी चर्चित छन् ।
सडक विस्तारले राजधानीका साँघुरा सडक चौडा बनाएपछि ट्राफिक जामको समस्या केही घटेको छ । तर, यसको अर्को पाटो, राज्यले जसरी पनि सडक विस्तार गर्दा कतिपयलाई ‘दैव लागे’ जस्तो भयो । तिनैमध्येकी काठमाडौं लाजिम्पाटकी ५३ वर्षीया लक्ष्मी तुलाधर अहिले तिवारीले सर्वात्कृष्ट पुरस्कार पाउँदा भग्नावशेष बनेको घरको कुनामा असह्य पीडाबोध महसूस गर्दै बसेकी छन् । उनी भन्छिन्, “हामीलाई घरभित्र जिउँदै पुरेको भए अझ् ठूलो सम्मान पाउँथे होलान् ।”
उजाडिएको भविष्य
१५ असार बिहानको सात बज्दा लक्ष्मीले घर बाहिर हल्लीखल्ली सुनिन् । छोराहरू ओछ्यानमै रहेकाले के भएको भनी बाहिर निस्केर हेर्दा उनले ठूलो डोजर आफ्नो घरतिर सोझ्एिको देखिन् । केहीबेरमै डोजरले उनको तीनतले घर भत्काउन थाल्यो, जसलाई उनी र परिवारका सदस्यको हारगुहारले रोक्न सकेन । घरले पुर्ला भनेर ज्यान जोगाउन लाग्दा घरका धेरै सामान बाहिर निकाल्न पनि भ्याएनन्, उनीहरूले ।
डोजर लगाउनेहरूले नै घरका कैयौं सामानहरू ट्रकमा हालेर लगे भने कैयौं सामान पुरिए । त्यसरी लगिएको सामान अझै फिर्ता नपाएको लक्ष्मी बताउँछिन् । केहीबेरमै सात वटा पसल सहित १४ कोठे सो घर ओत मात्र लाग्न मिल्ने सानो कुना छाडेर सबै भत्कियो । अहिले उनीहरू त्यही कुनामा गुजारा चलाउँदैछन् । तीन दशकअघि बिहे गरेर यो घरमा भित्रिएकी लक्ष्मी २०५१ मा ललितकला क्याम्पसमा काम गर्ने पतिको मृत्यु भएपछि घरको मूली बनेकी थिइन् ।
आम्दानीको अरू स्रोत नभए पनि घरभाडाले गुजारा चलेको थियो । पतिको मृत्यु हुँदा गर्भमा रहेको कान्छो छोरो मञ्जिलरत्न (१८) ले यो वर्ष एसएलसी उत्तीर्ण गरेका छन् । तर, उनलाई कसरी पढाउने भन्ने चिन्ता लक्ष्मीलाई थपिएको छ । माइलो छोरा सञ्जीलरत्न (२७) तीन सातादेखि बिरामी परेका छन् । घर भत्किएपछि दुवै छोराको मानसिक स्थिति पहिले जस्तो नहुँदा उनको चिन्ता अरू बढेको छ ।
बीआईटी (ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी) पढेर पनि उत्तीर्ण नभएका विवाहित जेठो छोरा अञ्जिलरत्न (३०) घर भत्केपछि पत्नी बिरामी भएकाले ससुराली बस्न थालेका छन् । विगत र वर्तमान तुलना गर्दा भक्कानिने लक्ष्मी बहिनीको सहयोगले जेनतेन गुजारा चलाएको बताउँछिन् ।
घर भत्किंदा बिजुली र खानेपानीको लाइन काटिएको र शौचालय पनि भत्केको छ । सडकबाट भत्केको ठाउँ हुँदै छिर्ने धूलोको मुस्लो रोक्न पुराना काठको छेकबारले सकेको छैन ।
निर्दयी राज्य
सडक विस्तारले आफ्नो घर भत्किने भएपछि लक्ष्मी पनि अरू जसरी नै महानगरपालिका, सडक विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । बासको अर्को व्यवस्था भएपछि आफैं घर भत्काउने उनको वचन अनुसार ती कार्यालयका प्रमुखहरूले पनि ‘अर्को व्यवस्था नभएसम्म नहटाउने’ आश्वासन दिएका थिए । त्यस अनुसार, कामदार खटाएर ईंटा र काठ जोगाउँदै उनले घर भत्काउन पनि थालिन् । तर, १५ असारमा ‘माथिको आदेश’ भन्दै ईंटा निकाल्न पनि समय नदिई उनको घरमा डोजर चल्यो ।
त्यसअघि उनी काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापित र जिल्ला आयुक्त भाइकाजी तिवारीकोमा पनि पुगेकी थिइन् । चार पुस्ता बसेको सो घर अहिले कान्छी छोरी अनितासँग बस्ने उनकी ८० वर्षीया सासू अष्टकुमारीको नाममा थियो । तर, स्थापित र तिवारीले भने अनुसार लालपुर्जा लैजान खोजी गर्दा मात्र उनलाई सासूको कान्छी छोरीले घर बेचिसकेको थाहा भयो । त्यसपछि स्थापितले सुझाए अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको र अहिले पनि मुद्दा चलिरहेको उनी बताउँछिन् ।
लक्ष्मीको घर भत्केपछि ११५ जना टोलवासीले ‘लक्ष्मी सुकुम्बासी नभएर लाजिम्पाटकै स्थायी बासिन्दा भएको’ व्यहोरा लेखी हस्ताक्षर गरिदिए । जसलाई बोकेर उनी सबै सरकारी कार्यालय पुगेकी छिन् । त्यो कागजात लिएर पुगेकी उनलाई तिवारीले भत्काउने निर्णय माथिबाट भएकाले ‘माथि’ नै जान भने । लक्ष्मी भन्छिन्, “पुग्नुपर्ने सबै ठाउँ पुगे पनि कतैबाट न्याय पाइनँ ।”
काठमाडौं उपत्यकाको चक्रपथमा केन्द्रबाट ३१–३१ मीटर, अरनिको राजमार्ग र त्रिभुवन राजपथमा २४–२४ मीटर, चक्रपथ भित्र र बाहिरका मुख्य सडकमा ११–११ मीटर, शाखा सडकमा ७–७ मीटर र उपशाखा सडकमा ५.५–५.५ मीटर छाड्नुपर्ने नियम अनुसार सरकारले सडक भत्काएको हो । जसको, शिकार १०० वर्षअघि बनेको लक्ष्मीको घर पनि भयो ।
साप्ताहिक खबरपत्रिका हिमालबाट


