थप समाचारबिहीबार, आश्विन ३, २०७०
आत्महत्याको प्रमुख कारण घरेलु हिंसा
प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा नेपालमा ३१ हजार ४४३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये महिला तथा बालबालिकाहरुमा प्रमुख कारण घरेलु हिंसा रहेको कोशिसले जनाएको छ ।
आत्महत्या गर्नु र आत्महत्याको सोच आउनुमा प्रमुख कारण मानसिक स्वाथ्यमा परेको प्रभाव हो भन्ने नबुझ्दा यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न नसकिएको कोशिशका अध्यक्ष मात्रिका देवकोटाले बताए ।
त्यस्तै सुरक्षित मातृत्वले सन् २००८/२००९ मा गरेको अध्ययनमा नेपालमा प्रजनन् उमेरका महिलामुत्युदरको १६ प्रतिशत कारण आत्महत्या रहेको पाइएको थियो । नेपालमा महिला हिंसाका खबरहरु सञ्चारमाध्यमले ब्यापकरुपमा उठाए पनि हिंसाले मानसिक स्वास्थ्यमा पार्ने असरका बारेमा सरकार बेखबर रहेको कोशिस नेपालले जनाएको छ ।
मानसिक समस्या भएका व्यक्तिलाई पुर्नस्थापनाको काम गर्दै आएको कोशिसका अनुसार उसले उद्दार गरेका ११३ जनामध्ये ८५ प्रतिशतमा हिंसा नै मानसिक रोगको मूख्य कारण रहेको पाइएको छ ।
३ असोजमा ‘हिंसाका कारण महिला र बालबालिकामा पर्ने मानसिक प्रभाव’ विषयक कार्यशालामा बोल्दै इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलले द्वन्द्वका कारण पनि नेपालमा मानसिक स्वास्थ्य समस्या बढेको बताए । उनले भने, “हिजोका हत्याराहरू आज खुलेआम हिडिरहेको देख्दा पीडित परिवारमा हुने मानसिक तनाव र पीडाले पनि मानसिक समस्या बढाएको छ ।”
त्यस्तै कार्यक्रममा बोल्दै डाक्टर अरूणा उप्रेतिले बच्चा जन्मिसकपछि हुने ‘पोस्टपार्टम डिप्रेसन’ ले धेरै महिला पीडित भए पनि यस विषयमा कसैको ध्यान नदिएको बताईन् । महिलाको महिनाबारी शुरू हुँदाको अवस्था, बच्चा जन्माएपछि र महिनाबारी सुक्ने समयमा हुने डिप्रसनका बारेमा धेरै अनभिज्ञ रहेको पनि उनले बताइन् ।
नेपालमा झुन्डिएर, विषादि सेवन गरी, आगो लगाई, डुबेर, हाम फालेर, धारिलो हतियारको प्रयोग गरी, करेन्ट लगाएर समेत आत्महत्या गर्ने गरेको पाइएको छ ।
विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् भने दैनिक आत्महत्या गर्नेको सङ्ख्या ३० हजार छ । वर्षमा सो सङ्ख्या करिब एक करोड पुग्ने गरेको छ । तीमध्ये आत्महत्या गर्नेमा ३० प्रतिशत एसियाका छन् । आत्महत्या गर्नेमध्ये १५ देखि ४४ वर्ष उमेर समूहका ६० प्रतिशत छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् १९९३ मा नै आत्महत्यालाई रोगका रूपमा परिभाषित गरिसकेको छ ।
मीना शर्मा
