समाचारशुक्रबार, आश्विन ४, २०७०
एमालेको भयो फोरम लोकतान्त्रिकको कार्यालय
विजय गच्छदार नेतृवको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य दीपककुमार राउत क्षेत्रीसहितका क्षेत्रीय तथा जिल्ला नेताहरूले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा क्षेत्रीसहित भक्तपुर जिल्ला सभापति कुवेर खत्री, उपसभापति कृष्ण सुन्दर आकाश, युवा अध्यक्ष गौतम नकर्मी, क्षेत्रीय पार्टी सभापति मिलन कार्की, ट्रेड युनियन भक्तपुर जिल्ला अध्यक्ष रविन सुरुजु, उपाध्यक्ष रामकुमार श्रेष्ठ, सल्लाहकार तेन्जी शेर्पाले फोरम लोकतान्त्रिक परित्याग गरेको घोषणा गरेका हुन् ।
सम्मेलनमा काठमाडौ जिल्ला युवा अध्यक्ष सुवर्ण थापा, उपाध्यक्ष शिशिर पराजुली, सदस्यहरू राजकुमार तामाङ्ग, समिर तामाङ्ग, विदुर फुँयाल, रूपेश केसी, ललितपुर जिल्ला युवा अध्यक्ष प्रज्ज्वल महर्जन, उपाध्यक्ष जितेन श्रेष्ठलगायत एक हजार जनाले पार्टी परित्याग गरेको घोषणा गरिएको थियो ।
पार्टी परित्याग घोषणा कार्यक्रममा क्षेत्रीले फोरम लोकतान्त्रिकले राष्ट्रिय अखण्डतामा आँच आउने कार्य गर्न थालेको, पार्टी मोजमस्तीमा लागेको, देश टुक्र्याउन खोजेको आरोप लगाएका थिए ।
पार्टी परित्याग गर्ने सबैजना नेकपा एमालेमा प्रवेश गर्ने घोषणासमेत उक्त कार्यक्रममा गरिएको थियो ।
क्षेत्रीले भने, “फोरम लोकतान्त्रिक परित्याग गरी एमालेमा प्रवेश गर्ने निर्णय गरेका छौं, आउँदो शनिबार एक हजार भन्दा बढी फोरम लोकतान्त्रिकका केन्द्रीय तहदेखि जिल्ला तहसम्मका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दैछौँ ।”
फोरम लोकतान्त्रिक पार्टी परित्याग गरेको घोषणासँगै उक्त पार्टीको भक्तपुर जिल्ला पार्टी कार्यालय एमालेको सम्पर्क कार्यालय बनेको छ ।
रासस
