समाचारशुक्रबार, आश्विन ४, २०७०

एमालेले चुनावी प्रचार शुरु गर्‍यो

हिमालखबर

पार्टी मुख्यालय बल्खुमा ४ असोजमा राष्ट्रिय प्रचार भेलाको आयोजना गरी एमालेले चुनावी प्रचार शुरुवात गरेको छ । भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले कुनै पनि शक्तिले ४ मंसीरका लागि निर्धारित निर्वाचनलाई सार्न नसक्ने बताए ।

अध्यक्ष खनालले देश अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको र राष्ट्रियता समेत कमजोर बन्दै गइरहेको भन्दै निकासाको एक मात्र विकल्प निर्वाचन भएको स्पष्ट पारे ।

अघिल्लो संविधानसभाले संविधान निर्माणको ८० प्रतिशत काम पुरा गरेको भए पनि एमाओवादीले त्यसबेलाको ठूलो पार्टीको हैसियतले अगुवाई गर्न नसक्दा मुलुकले संविधान पाउन नसकेको धारणा ब्यक्त गरे । आगामी निर्वाचनबाट एमालेले बहुमतसहित ठूलो पार्टी बनेर संविधान दिने खनालको दाबी छ ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा–माओवादीलाई हदैसम्म प्रयास गर्दासमेत निर्वाचनमा सामेल गराउन नसकिएको बताए । उनले आगामी निर्वाचनमा पार्टी नेतृत्व एकताबद्ध भएर गए सजिलै बहुमत ल्याउन सकिने बताए ।

अर्का नेता केपी ओलीले उग्रवामपन्थीले देशमा अस्थिरता पैदा गराएको भन्दै आगामी निर्वाचनमा एमालेले महिलालाई समानुपातिकतर्फ ५० प्रतिशत सिट संख्या सुरक्षित गरेर ऐतिहासिक काम गरेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>