समाचारआइतबार, आश्विन ६, २०७०
गोइत समूहका सैन्य कमाण्डर र पोलिटब्यूरो सदस्य पक्राउ
वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालको नेतृत्वको टोलीले ५ असोज राति पर्साको सुख्खा बन्दरगाह इलाकाबाट गोइत समूहका सैन्य कमाण्डर पटेललाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
पर्साका लिपनीबिर्ता–८ बस्ने पटेल विभिन्न आपराधिक घटनामा संलग्न रहेको र प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको खनालले जानकारी दिए । खनालका अनुसार तत्कालीन पर्सा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत मोहन मैनालीको हत्या पनि आफैंले गरेको पटेलले स्वीकार गरेका छन् । विसं २०६५ असोज ३ गते वीरगञ्जको रानिघाटमा मैनालीको हत्या भएको थियो । मैनालीको हत्यामा संलग्न अर्का अपराधी शशीभूषण तिवारी हाल वीरगन्ज कारगारमा छन् ।
पटेलले २०६४ भदौ ७ गते पर्साको महुवन–३ निवासी फूलचन्द्र साह कानुको पनि हत्या गरेको स्वीकारेको अञ्चल प्रहरी कार्यालय वीरगन्जले जानकारी दिएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला प्रहरी कार्यालय पर्सालाई जिम्मा लगाइसकिएको छ ।
पोलिटब्युरो सदस्य पनि पक्राउ
प्रहरीले धनुषालगायत अन्य जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न रहेका ‘पृथ्वी सिंह’ भन्ने श्याम यादवलाई पक्राउ गरेको छ ।
यादवमाथि युथ फोर्स जनकपुरका इन्चार्ज माथवर मुखियाको हत्याको अभियोग छ । २३ साउन, २०६८ मा मुखियालाई गोली हानि हत्या गरिएको थियो । त्यसै गरी यादवले २०६६ सालमा जनकपुर–जयनगर रेल सेवामा सिलिण्डर बम विष्फोट गराएको, जनकपुर रेलमा सिलिन्डर बम विस्फोट गराएको र सरोज कोइराला रेल्वे स्टेसनमा बम विस्फोट गराएको अभियोगमा मुद्दा छ ।
त्यस्तै उनीमाथि मालपोत कार्यालय महोत्तरीमा बम विस्फोट गराई भवन क्षतिग्रस्त बनाएको, कार्यालय प्रमुख, उद्योगी, व्यापारी, इन्जिनियर, चिकित्सक लगायतसँग चन्दा असुली गरिरहेको आरोप छ ।
५ असोजमा भारतीय सीमाभन्दा दुईकिलोमिटरभित्र धनुषाको नगराईनमा बीआर ३० सी ०१६१ नम्बरको मोटरसाईकल चढेर आईरहदा यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जनाएका छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
इश्वरचन्द्र झा, जनकपुर
