समाचारसोमबार, आश्विन ७, २०७०

बाढीपीडितका लागि संकलित राहत वितरणमा ढिलाई

रासस

दार्चुलाका बाढीपीडितका लागि अहिलेसम्म व्यक्तिगत र संस्थागत गरी रु ६० लाख राहत सङ्कलन भए पनि अझै वितरण हुनसकेको छैन । बाढीपीडित सङ्घर्ष समितिको खातामा रु छ लाख, उद्योग वाणिज्य सङ्घको खातामा रु १० लाख र जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा रु ४४ लाख रहेको बाढीपीडित सङ्घर्ष समितिले जनाएको छ ।

तीन महिना व्यतित भइसक्दा पनि क्षतिको विवरण सङ्कलन हुन नसक्दा राहत वितरण हुन नसकेको हो । स्थानीय प्रशासन र पीडित पक्षबीच क्षतिको विवरणमा विवाद रहेको छ । कसको कति क्षति भएको पुनः यकिन गरेरमात्रै वितरण गर्न सबै पक्ष बसेर निर्णय लिन सकिने दैवीप्रकोप उद्धार समन्वय संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

सरकारले रु ५० करोड प्याकेजमा मात्रै दिने निर्णय गरेको जिल्ला प्रशासनले जनाएको छ । पुनःनिर्माणको रकमबारे मन्त्रालयस्तरीय छलफल जारी रहेको प्रजिअ कटुवालले बताए । केही राहत सहयोग व्यक्ति र संस्थाले आफैँ आएर वितरण गरेका थिए । केही संस्था र प्रशासनमार्फत आएको गैरखाद्य सामग्री रेडक्रस दार्चुला शाखामार्फत वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिलेसम्म रेडक्रसमार्फत एउटा टेन्ट, एउटा कम्बल, ३० किलो चामल र प्रशासनमार्फत रु ३५ हजार नगदमात्र राहत पाएको पीडितले बताएका छन् ।

पीडितलाई राहत वितरण गर्ने भन्दै दर्जनौँ कार्यालय र सङ्घसंस्थाले दौडधूप गरे पनि दुई किलो चामल पाउन प्रजिअको सिफारिस ल्याउनुपर्ने स्थिति रहेको बाढीपीडित सङ्घर्ष समितिका सचिव रघुवीरसिंह ठगुन्नाले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>