समाचारसोमबार, आश्विन १४, २०७०
स्याङ्जा कांग्रेस कार्यालयमा तालाबन्दी
स्याङ्जा क्षेत्र नं. १ बाट सिफारिस भएका तीन उम्मेदवारभन्दा बाहिरका नेतालाई संसदीय दलले छनौट गर्न थालेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले जिल्ला कांग्रेस कार्यालयमा तालाबन्दी गरेका छन् ।
क्षेत्र नं. १ बाट सिफारिस भएका नेताहरु राजु थापा, तुलसीराम रेग्मी र गोपालमान श्रेष्ठलाई बाहेक गरी जिल्ला सभापति तथा क्षेत्र नं. २ बाट सिफारिसमा परेका कमलप्रसाद पंगेनी र धनराज गुरुङ्गमध्ये कुनै एकलाई छनौट गर्न लागेको भन्दै असन्तुष्ट बनेका कार्यकर्ताहरुले १४ असोजमा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यसैबीच नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का क्षेत्रीय सभापति तुलसीराम रेग्मी र पुतलीबजार नगर समितिका सभापति बेदप्रसाद दोरङ्गाले प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीय समितिको सिफारिस बाहिर गएर कार्यकर्ता माझ लोकप्रिय नेतालाई उमेद्वार हुन बञ्चित गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
“निर्णय सच्याएर पार्टीको क्षेत्रीय समितिबाट सिफारिस भएका मध्येबाट उमेद्वार चयन नभएसम्म तालाबन्दी जारी रहन्छ ,” क्षेत्रीय सभापति रेग्मीले भने ।
देव पचभैया, पाल्पा
