समाचारसोमबार, आश्विन १४, २०७०
मायाकुमारीद्वारा सर्वोच्चमा रिट दायर
मन्त्रिपरिषद्ले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई केही दिनअघि उनलाई फिर्ता बोलाउने (राजदूतबाट हटाउने) निर्णय गरेको थियो । मन्त्रिपरिषदको उक्त निर्णयविरुद्ध शर्माका वारेस भक्तबहादुर कुँवरले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिटमा शर्माले आफूले राजदूतको नियुक्ति राष्ट्रपतिबाट पाएकोले फिर्ता बोलाउने अधिकार पनि मन्त्रिपरिषदमा नरहेको दाबी गरेकी छन् । त्यसैगरी आफूलाई राजदूतबाट हटाउनु पर्ने कुनै कारण नदेखाइएको पनि रिटमा उल्लेख छ ।
शर्माले एक रेडियो कार्यक्रममा कतारलाई विदेशी मजदुरहरुका लागि ‘खुल्ला जेल’ भनेपछि विवादमा परेकी थिइन् । उनलाई फिर्ता बोलाउन नेपालका लागि कतारका राजदूतले परराष्ट्रमन्त्रीसँग आग्रह समेत गरेका थिए ।
कृषि विकास बैंक चितवनकी शाखा अधिकृत मायाकुमारीलाई बाबुराम भट्टराइको सरकारका पालामा कतारका लागि नेपाली राजदूत नियुक्त गरिएको थियो । शर्मालाई फिर्ता बोलाउन एमाओवादी केन्द्रीय कार्यालयको ४ असोजमा बसेको बैठकले सरकारलाई लिखित सहमति दिएको थियो ।
