समाचारबुधबार, आश्विन १६, २०७०
कञ्चनपुर– एमालेका नौ नेताद्वारा राजीनामा
१६ मंसीरमा एमाले केन्द्रीय कमिटीलाई राजीनामा पत्रमा बुझाएका कञ्चनपुरका नेताहरुले ‘जनतामा लोकप्रिय’ नेतालाई टिकट नदिएको उल्लेख गरेका छन् । राजीनामा दिनेहरुमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्यत्रय खेम सुवेदी, जयराज पाण्डेय र लोकबिक्रम थापा, महाकाली अञ्चल कमिटी सदस्यहरु राजेन्द्रसिंह रावल, ईश्वरी प्रसाद खरेल, रामचन्द्र नेपाल, भक्तबहादुर अधिकारी, रामदत्त जोशी र विरबहादुर बुढाथोकी छन् । रावल र खरेल एमाले कञ्चनपुरका पूर्व अध्यक्ष पनि हुन । उनीहरु सबै संविधानसभा निर्वाचनमा उम्मेदवारका दावेदार हुन ।
कञ्चनपुर क्षेत्र नं. २ मा कृपाराम चौधरीलाई स्थायीय कमिटीले उम्मेदवार बनाउने निर्णय गरेको भए पनि १५ असोज राति उनको नाम काटेर कञ्चनपुर अध्यक्ष तारा लामाको नाम सिफारिस गरिएको उनीहरुले बताए ।
त्यस्तै क्षेत्र नं. १ मा खेम सुवेदीको नाम तय भए पनि पछि पूर्वराज्यमन्त्री लालबहादुर विश्वकर्मालाई टिकट दिइएको राजीनामा गर्ने नेताहरुको दावी छ ।
एमालेले कञ्चनपुर क्षेत्र नं. १ मा पूर्वराज्यमन्त्री लालबहादुर विश्वकर्मा, २ मा जिल्ला अध्यक्ष तारा लामा, ३ मा विद्यार्थी नेता नरबहादुर धामी र ४ मा पूर्वमन्त्री उर्वादत्त पन्तलाई उम्मेदवार बनाएको छ ।
बच्चु विक, महेन्द्रनगर
