थप समाचारबुधबार, आश्विन १६, २०७०
किशोरीअवस्थामै पाठेघर खस्न थाल्यो
जाजरकोटका ८ गाविसमा ‘बहुआयामिक अध्ययन तथा विकास मञ्च’ ले गरेको सर्वेक्षणमा पाठेघर खसेकामध्ये २० बर्ष मुनिका किशोरीहरुको संख्या कुल संख्याको आधा भएको पाइएको छ । त्यस्तै सर्वेक्षणले ४८ प्रतिशत महिलामा यो समस्या भएको देखाएको छ ।
१२०० महिलामा गरिएको सर्वेक्षणमा ५७७ जनामा पाठेघर खस्ने समस्या देखिएको संस्थाका अध्यक्ष रामविक्रम शाहले जानकारी दिए । त्यसमध्ये २० बर्ष मुनिका २२५ किशोरीहरु छन् ।
“कतिपय अविवाहित किशोरीको समेत पाठेघर खसेको छ,” अध्यक्ष शाहले भने । पोषणयुक्त खानाको अभाव, गह्रौ भारी बोक्नु पर्ने, अत्यधिक श्रम, गर्भवती र सुत्केरी अवस्थामा हेरचाह नहुनु, सानै उमेरमा विवाह, असुरक्षित यौन सम्पर्क जस्ता कारणले पाठेघर खस्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
अनुसन्धानको क्रममा पतिको कुटाई, घरेलु हिंसाका कारण पनि पाठेघर खसेको पाईएको अध्यक्ष शाहले सुनाए ।
गरीवी, अशिक्षा र कथित लज्जाका कारण पनि पाठेघर खसेका महिलाको समयमा उपचार हुन पाउँदैन । समस्या अत्यधिक भएर खपीनसक्नु भएपछि मात्रै उपचारको खोजी गर्ने कारणले पनि यसक्षेत्रमा पाठेघर खस्ने समस्या विकाराल बन्दै गएको महिला अधिकार मञ्चका अध्यक्ष शोभा सिहले बताईन् ।
केड नेपालको सहयोगमा महिला अधिकार मञ्च र बहुआयामिक विकास तथा अध्ययन मञ्चले तीन बर्ष देखी महिलाहरुको पाठेघर खस्ने समस्या सम्वन्धमा काम गरिरहेका छन् ।
राजेन्द्र कार्की, जाजरकोट
