समाचारबिहीबार, आश्विन १७, २०७०
अल्ट्रालाईट दुर्घटनामा २ को मृत्यु (अपडेट)
१७ असोज विहान पोखरासँगै जोडिएको पुम्दिभुम्दिको शान्तिस्तुपा नजिकै अल्ट्रालाईट दुर्घटना हुदाँ जहाजका ३२ वर्षीय पाईलट स्टेफेन श्रेष्ठ र ३३ वर्षीय पर्यटक चिनियाँ नागरिक लि जिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यात्रुको घटनास्थलमै र पाईलट स्टेफनको उपचारका क्रममा चरक अस्पतालमा मृत्यु भएको हो । एभिया क्लवका अध्यक्ष समेत रहेका स्टेफन अल्ट्रालाईटको पहिलो नेपाली पाइलट हुन ।
पोखरामा मानवीय क्षति हुनेगरी अल्ट्रालाईट दुर्घटनामा परेको यो पहिलो पटक हो । पोखरा तथ आपसाको दृष्यावलोकनका लागि एभिया क्लवले संचालन गरेको जहाज १७ असोज बिहान ९ः३५ मा दुर्घटना भएको थियो ।
उड्दै गरेको ९ एन एजेवाइ कलसाईनको जहाज बिजुलीको तारमा ठोक्किदै विश्व शान्तिस्तुपा जाने बाटोको पार्किङस्थल नजिकैको धानखेतमा खसेको थियो । जहाज खसे लगत्तै स्थानीय वासी उद्दारका लागि पुगे पनि ज्यान जोगाउन भने सफल भएनन् ।
दुईवटा जहाज सँगै उडेकोमा एउटा पोखरातिर मोडिएको थियो भने अर्काे पनि पोखरा तिरै मोडिने क्रममा खसेको प्रत्यक्षदर्शीको भनाई छ ।
पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको बताए । जहाजले पोखरा विमानस्थल टावरको कन्ट्रोलमा उडान भर्ने गर्दछ ।
सन १९९७ मा व्यवसायीक उडान थालेको एभिया क्लवले ६ वटा अल्ट्रालाईट उडाउने गरेको छ जसमा स्वदेशी र विदेशी गरी ७ जना पाइलट छन् ।
माधव बराल, पोखरा
