समाचारबिहीबार, आश्विन १७, २०७०
काठमाडौंमा उम्मेदवारी दर्ता उत्साहपूर्ण
कार्यकर्ताहरुको लस्कर र तामझामसहित नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बनाइएको अस्थायी निर्वाचन डेस्कमा १० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दिन पुगेका विभिन्न दलका नेताहरुले आफ्नो जीत सुनिश्चित भएको दावी समेत गरेका छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सबैजसो नेताहरुले संविधानसभाले विगतमा गर्न नसकेका काम पूरा गरेर मुलकको संक्रमणकाल अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेका बताए ।
काठमाडा–१० का लागि उम्मेदवारी दिन पुगेका एमाओवादीका अध्यष्क्ष पुष्पकमल दाहालले राष्ट्र निर्माणको संकल्प लिएर उम्मेदवारी दिएको दाबी गरे । उनले पहिचानको मुद्दा स्थापित गरेर संघीय लोकतान्त्रिक संविधान जारी गर्न सिङ्गो पार्टी नै अघि बढ्ने बताए ।
क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका एमाले महासचिव इशवर पोखरेलले बिगतमा संविधानसभाले गर्न नसकेका काम पूरा गर्ने आफ्नो मुख्य एजेण्डा भएको बताए । महासचिव पोखरेलले मुलुकको सामजिक आर्थिक रुपान्तरणका लागि आफ्नो जीत आवश्यक भएको बताए ।
क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता गगन थापाले संविधानसभामा रहेका शक्ति र दलहरुबीच समन्वयकारी भूमिका खेलेर जनताको चाहना अनुसारको संविधान जारी गर्ने आफ्नो मुख्य एजेण्डा भएको प्रतिक्रिया दिए । उनले दोस्रो संविधानसभालाई तोकिएको समयमा जनचाहना अनुसार सफल बनाउन आफ्नो जीत आवश्यक रहेको दाबी गरे ।
त्यसैगरी क्षेत्र नम्बर ४ बाटै उम्मेदवारी दिएका एमाओवादीका नेता नन्दकिशोर पुनले बिगतको संविधानसभाले गर्न नसकेका काम पूरा गर्न आफ्नो उम्मेदवारी आवश्यक रहेको जिकिर गरे । उनले मुलुकको संक्रमणकाल अन्त्य गरेर अग्रगमनतर्फ लैजान संविधानसभामा आफ्नो उपस्थिति हुनैपर्ने दाबी गरे ।
यसैबीच गतवर्ष सार्वजनिक समारोहमै एमाओवादी अध्यक्ष दाहालमाथि आक्रमण गरेर चर्चामा आएका पदम कु“वरले काठमाठौं १० बाट उम्मेदवारी दिएका छन् । उनले आफू र अध्यक्ष दाहालले एउटै क्षेत्रबाट उम्मेदवारी दिनु संयोग मात्र भएको बताए । संविधानसभालाई जिम्मेवार बनाउन युवाहरुको उपस्थिति आवश्यक रहेकाले आफूले स्वतन्त्र उम्मेदवारको हैसियतमा उम्मेदवारी दिएको कुँवरको भनाई छ ।

