समाचारबिहीबार, आश्विन १७, २०७०
श्रीलंकाली डकुमेन्ट्री प्रदर्शनमा सरकारको रोक
१७ असोजदेखि काठमाडौंमा शुरु भएको दक्षिण एशियाको चर्चित डकुमेन्ट्री फिल्म महोत्सव ‘फिल्म साउथ एशिया’ मा श्रीलंकाका गृहयुद्ध र संक्रमणकालसँग सम्बन्धित तीनवटा फिल्मलाई श्रीलंकाली सरकारको आग्रहमा नेपाल सरकारले प्रदर्शनमा रोक लगाएको छ ।
श्रीलंकाली फिल्म निर्माता निर्देशक केलम मक्रेको ‘नो फायर जोन’, कन्नान अरुनास्लमको ‘ब्रोकन’ र ‘द स्टोरी अफ वन’लाई सरकारले प्रदर्शन गर्न बन्देज लगाएको हो ।
श्रीलङ्कामा प्रदर्शनमा रोक लगाइएका ती डकुमेन्ट्रीको सार्वजनिक प्रदर्शनमा नेपाल सरकारले पनि रोक लगाएपछि आयोजकले फिल्म प्रदर्शन भइरहेको कुमारीहलमा सार्वजनिक प्रदर्शन नगर्ने वताएका छन् । तर, फिल्मलाई प्रतिस्पर्धाबाट भने नहटाइएको पनि आयोजकले जानकारी दिए ।
सरकारको सम्मानका लागि सार्वजनिक हलमा नदेखाए पनि प्राइभेट थिएटरमा ती फिल्म देखाइने फिल्म साउथ एशियाका अध्यक्ष कनक दीक्षितले बताए । दीक्षितले भने, “सभ्य समाजमा कस्तो फिल्म हेर्ने भन्ने निर्णय जनता आफैंले गर्ने हो, राज्यले त्यसलाई रोक्न खोज्नु राम्रो होइन।”
अन्य विकसित मुलुकहरुमा सार्वजनिक हलहरुमा प्रदर्शनका लागि फिल्मको वर्गिकरण गरिए पनि उत्सव र प्रतिस्पर्धाहरुमा फिल्ममा रोक लगाइँदैन ।
२० असोजसम्म काठमाडौंस्थित क्युएफएक्स कुमारीमा चल्ने फिल्म साउथ एशियामा ५५ वटा फिल्म प्रदर्शन हुँदैछन् । जसमध्ये ३४ वटा फिल्मबीच प्रतिस्पर्धा हुँदैछ ।
महोत्सवमा साउथ एशियन युनिभर्सिटी दिल्लीकी प्रोफेसर मल्लिका शाक्य, बंगलादेशी फोटोग्राफर साइदुल आलम, चेन्नईको कल्चरल जर्नालिज्म इन्ष्टिच्यूटका प्रोफेसर सदानन्द मेनन, डकुमेन्ट्री वितरण कम्पनीका सञ्चालक गार्गी सेन र भारतीय फिल्मी खलनायकहरूमाथि पुस्तक लेखिरहेका अरुण गुप्ता समेत सहभागी छन् ।
