समाचारशनिबार, आश्विन १९, २०७०
शुरु भयो दशैं, आज घटस्थापना
घटस्थापनाको साइत १८ असोज बिहान ९:५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज शुक्ल पक्ष प्रतिपदाको दिनदेखि घटस्थापनासँगै नवरात्री शुरु हुन्छ ।
यसै दिनदेखि पूर्णिमासम्म १५ दिन घर आँगनमा आ–आफ्ना विधि र परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी दशैं मनाउने चलन छ । विजयदशमीको पहिलो दिन घटस्थापनामा घरघरमा जमरा राखिन्छ र घटकलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्र्तगत नवरात्रीको उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरूपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुक्ष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रूपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।
परम्पराअनुसार, घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गरिन्छ ।
