समाचारआइतबार, आश्विन २०, २०७०
प्रभाकरनले अन्तिम समय विताएको बंकर नष्ट
सन् २००९ मा श्रीलंकामा गृहयुद्ध समाप्त भएपछि मुलाईट्टीवु जिल्लास्थित प्रभाकरन बस्ने गरेको बंकर सेनाले नष्ट गरेको छ । यो बंकर पर्यटकहरुको आकर्षणको केन्द्र थियो ।
प्रभाकरन लिवरेशन टाइगर्स आफ तमिल इलम (एलटीटीइ) का संस्थापक र अन्तिम समयसम्म प्रमुख थिए ।
नरियलको जंगलबीचमा बनेको चारतले यो बंकर प्रभाकरनको सैन्य गतिविधि र आवासका लागि समेत प्रयोग हुन्थ्यो ।
बंकरभित्र साउण्डप्रुफ इलेक्ट्रीसिटी जेनेरेटर्स, एयर कंडिसन र मेडिकल सप्लाई समेत हुने गरेको बताइन्छ । त्यहाँ निगरानीका लागि सेटलाइट क्यामरा र हथियार पनि रहन्थे । बंकरहरुमा मारिएका तमिल टाइगर्सका तस्वीर झुण्ड्याइएको हुन्थ्यो ।
सन् २००९ को मे महिनामा सेनाद्वारा मारिएका प्रभाकरन श्रीलंकाको उत्तरी र पूर्वी क्षेत्रमा बेग्लै स्वतन्त्र राज्यको स्थापनका लागि सशस्त्र युद्धको नेतृत्व गरिरहेका थिए । करिब २५ वर्षसम्म श्रीलंकामा गृहयुद्ध चलेको थियो । अन्त्यमा विद्रोही नेतासहित संस्था नै सखाप हुन पुग्यो ।
प्रभाकरनको मृत्यु भएको केही समयपश्चात उनका १२ वर्षीय छोरालाई पनि सेनाले मारेको आरोप लाग्ने गरेको छ ।
बीबीसीका अनुसार बंकरलाई नष्ट गर्नुभन्दा पहिले आसपासका घरहरु खाली गर्न लगाइएको थियो त्यसपछि विष्फोटको आवाज र धुलो उडेको स्थानीयले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
प्रभाकरनले अन्तिम समय विताएको बंकर नष्ट गरिए पनि उनका अन्य सेल्टरहरु पनि अझै नष्ट गरिएको छैन ।

