समाचारमंगलबार, आश्विन २२, २०७०
छोरीको क्षेत्रबाट दाहालको निर्वाचन अभियान शुरु
काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनावी अभियान शुरु गरेका छन् । यसक्षेत्रबाट एमाओवादीले दाहालकी छोरी रेणुलाई संविधानसभा सदस्यको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेपछि २२ असोजबाट दाहालले चुनावी अभियान शुरु गरेका हुन् ।
एमाओवादी काठमाडौं क्षेत्र नं. १ ले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै दाहालले आगामी संविधानसभामा ६ महिनाभित्र संविधानका अन्तर्वस्तुमा सहमति हुन नसके निर्वाचन प्रक्रियामार्फत सबै विषयवस्तुलाई टुङ्गो लगाइने बताए।
राज्यपुनः संरचना, शासकीय स्वरुपलगायत विषयमा कुरा नमिल्दा यसअघिको संविधानसभाले संविधान बनाउन नसकेको भन्दै दाहालले विगतको गल्ती अब नदोहोर्याइने दाबी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका तर्फबाट उम्मेदवार एवम् दाहालपुत्री रेणु दाहालले अग्रगामी कार्यसूचीलाई संस्थागत गराउन आफ्नो अधिकतम प्रयास रहने भएकाले एमाओवादीलाई मतदान गर्न आग्रह गरेकी थिइन् ।
दाहाल परिवारबाट ४ जना
एमाओवादीले अध्यक्ष दाहाल परिवारका चार जनालाई आगामी संविधानसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
दाहाल काठमाडौं क्षेत्र नम्बर १० र सिरहा–५, उनकी छोरी रेणु काठमाडौं–१, छोरा प्रकाशकी प्रेमिका बिना मगर कञ्चनपुर–१ र भाइ नारायण चितवन–४ बाट उम्मेदवार भएका छन् । दाहालले काठमाडौं–१० र रोल्पाबाट यसअघिको चुनाव जितेका थिए । रेणु यसअघि समानुपातिक तर्फबाट सभासद् थिइन् ।
