समाचारबुधबार, आश्विन २३, २०७०

खुमबहादुर खड्का रिहा (तस्वीरसहित)

हिमालखबर

डिल्लीबजार जेलबाट बाहिरिंदै खुमबहादुर खड्का ।

डिल्लीबजार जेलबाट छुटेलगत्तै नेपाली कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले जेलमै पत्रकार सम्मेलनको आयोजना गरी आफूलाई अन्यायपूर्ण तरिकाले न्यायालयले जेल हालेको आरोप लगाएका छन् ।

उनले भने, “कानूनको राज्य मान्नुपर्छ भन्ने सिद्धान्त बोकेको हुँदा मैले अन्यायपूर्ण फैसला पनि शिरोधार्य गरेर जेलमा आएँ ।” “मैले सरकारी सम्पति हिनामिना गरेको एउटा पनि प्रमाण छैन, ” खड्काले भने, “अनुमानको भरमा अनुमानित कसुर नाम दिएर मलाई जनता र राजनीतिबाट टाढा राख्ने प्रयास भयो ।”

उनले अब नेपाली कांग्रेसलाई सुदृढ बनाउन, प्रजातन्त्रलाई बलियो पार्न र राष्ट्रियतालाई अझै सुदृढ बनाउन आफूले प्रयास गर्ने दाबी गरे ।

खुमबहादुरको स्वागतका लागि दाङ्बाट अाएका कार्यकर्ताहरु ।

नेपाली कांग्रेसभित्र बीपीको विचार बोकेकाहरुलाई एक एक गरेर समाप्त गर्ने कोशिस भएको आरोप लगाउँदै खड्काले पार्टी नेताहरुमा कमिकमजोरी भएको र त्यसलाई सच्चाउनु पर्ने बताए । “नेताहरुसँग अझै पनि समय छ, त्यसलाई सच्याउनुपर्दछ,” खड्काले भने ।

उनले अहिले राष्ट्रियता कमजोर भएको भन्दै जुनुसुकै विचारधारा बोकेका भए पनि राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिने बेला आएको भने । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चालाई निर्वाचनमा सहभागी नगराएर देशलाई द्वन्द्वतर्फ धकेल्ने काम भएको खड्काको भनाई थियो ।

डिल्लिबजार कारागार परिषरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै खुमबहादुर खड्का ।

“भोलि नेपाली कांग्रेसका कार्यकर्ता मारिन लागे, लुटिन, पिटिन लागे, सम्पत्ति जफत हुन लाग्यो भने त्यसको जवाफ कसले लिन्छ ?” उनले प्रश्न गरे । खड्काले मुलुकलाई छिन्नभिन्न गर्ने कोसिस भइरहेको भन्दै अन्तिम सास रहेसम्म त्यस्ता शक्तिकाविरुद्ध लड्न तयार रहेको बताए ।

“अन्याय भयो भने भाग्ने होइन, पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्छ,” टिकट नपाएर नेपाली कांग्रेस छाड्नेहरुले गल्ती गरेको बताएका खड्काले भने, “अब नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउनका लागि तन, मन, धन दिएर लाग्नुपर्छ ।”

आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनका लागि आफूले सक्दो प्रयास गर्ने भन्दै सबै नेता कार्यकर्तालाई एक भएर पार्टीका उम्मेदवारलाई सहयोग गर्न आह्वान पनि गरे ।

खड्कालाई ३० साउन २०६९ मा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै डेढ बर्ष कैद र ९४ लाख ७४ हजार १२२ रुपैयाँ जरिवाना र त्यति नै बिगो भराउने  फैसला गरेको थियो ।

कार्यकर्ताहरुको भीडका बीचमा गाडीमा चढेका खुमबहादुर खड्का ।

६ भदौ २०६९ मा डिल्लीबजार कारागार पसेका खड्का २३ असोजमा २०७० मा कैद सजाए भोगेर रिहा भएका हुन् ।

तस्वीरहरु: देवकी बिष्ट, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>